• Menu

स्वास्थ्यकर्मी घरमै पुग्दा खजुराका ज्येष्ठ नागरिक दंग, भने- ‘हाम्रो लागि पनि सरकार रहेछ’

नेपाल प्रफिट

२०८३ असार २६, शुक्रबार १४:३१

स्वास्थ्यकर्मी घरमै पुग्दा खजुराका ज्येष्ठ नागरिक दंग, भने- ‘हाम्रो लागि पनि सरकार रहेछ’

बाँके । खजुरा गाउँपालिका-५ उढरापुर निवासी ७५ वर्षीया दिलकुमारी रेग्मीका लागि सामान्य स्वास्थ्य परीक्षण गराउन पनि अस्पतालसम्म पुग्नु सहज थिएन । उमेरसँगै कमजोर हुँदै गएको शारीरिक अवस्थाका कारण उनलाई घर बाहिर निस्कनै कठिन थियो । तर, जब स्वास्थ्यकर्मीको टोली घरमै पुगेर स्वास्थ्य परीक्षण गर्‍यो, उनले सरकार आफ्नै आँगनमा आएको अनुभूति गरिन् ।

खजुरा-६ निवासी ७८ वर्षीय सन्तबहादुर सुनारले स्वास्थ्यकर्मी घरमै आएर सेवा दिन्छन् भन्ने कल्पनासमेत गरेका थिएनन् । ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ अन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर मधुमेह र रक्तचाप परीक्षण गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराए पछि उनी हर्षित भए ।

‘घरमै आएर स्वास्थ्य जाँच गरी औषधि दिँदा हाम्रो लागि पनि सरकार रहेछ भन्ने लागेको छ,’ उनले भने, ‘स्वास्थ्य उपचारसँगै आत्मविश्वास पनि बढेको छ । जनताको सरकार भएको महसुस भएको छ ।’

गाउँपालिकाले ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ मार्फत हालसम्म दुई हजार ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सेवा प्रदान गरिसकेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताइन् ।

उनका अनुसार, यस कार्यक्रमअन्तर्गत ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको घरमै पुगेर महिनामा कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

यसका लागि पालिकाले चार जना स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले प्रत्येक दुई-दुई वटा वडा हेर्दैआएको छ ।

स्वास्थ्यकर्मीले नियमित रूपमा रक्तचाप, मधुमेह परीक्षण, आँखाको जाँच, कान परीक्षण गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेका छन् । घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिकले घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

गाउँपालिकाले ‘सुत्केरी तथा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ समेत सञ्चालन गरी विपन्न तथा आर्थिक रूपमा कमजोर गर्भवती महिलाहरूलाई क्याल्सियम वितरण, पोषण सहयोग तथा नियमित स्वास्थ्य जाँचको व्यवस्था गरेको छ ।

पालिकाभित्रका आठ वटै स्वास्थ्य संस्थाबाट क्षयरोग उपचार सेवा उपलब्ध गराइएको छ भने ६ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालनमा ल्याइएको छ । हाल यो सेवा थप विस्तार गरी अन्य वडामा पनि सुरु गरिएको छ ।

गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स-रे सेवा, सुत्केरी महिलालाई पोषिलो आहार वितरण तथा निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएको छ । सुत्केरी महिलाको घरमै दुई पटकसम्म स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएपछि एक हजारभन्दा बढीले लाभ लिएका छन् ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाका कुनै पनि ज्येष्ठ नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भनी नागरिकको घरदैलोमै पुग्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए ।