चितवन । जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।
‘चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ,’ उनले भने । जिल्लाभर ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उनले बताए । उनका अनुसार पसाएर फल लाग्ने समयको केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।
संघका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा १२ करोड रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । ७० जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले जानकारी दिए ।
बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए । जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ ।
उनका अनुसार यहाँ सात सय किसानले केरा खेती गरेकोमा हावाहुरीले १६५ जना किसानको केरामा क्षति भएको छ । वास्तविक तथ्यांक आउने केही समय लाग्ने उनले जानकारी दिए ।