बाँके । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४.७ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ ।
वितरण गरिएका रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९.६ मेट्रिक टन, डिएपी दुई हजार ६२८.४५० मेट्रिक टन र पोटास २०६.६५० मेट्रिक टन रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जले जनाएको छ ।
कम्पनीमा अझै पनि ३५६.१०० मेट्रिक टन युरिया, १०५.६५० मेट्रिक टन डिएपी र १४.८३० मेट्रिक टन पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिए ।
बाँकेमा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा रासायनिक मलको माग कम रहेको उनले बताए ।
किसानले युरिया रासायनिक मल खेतीमा प्रयोग गर्ने बेला नभएपनि पछि नपाउने डरले सबैभन्दा बढी माग युरियाको गरेको जानकारी दिँदै प्रमुख श्रेष्ठले रासायनिक मल आउने क्रम जारी रहेको र वितरण कार्य पनि भइरहेको उल्लेख गरे ।
‘धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया छर्ने हो तर किसानले पछि नपाइने हो कि भनेर माग गरिरहनुभएको छ,’ उनले भने । साउनभर रासायनिक मलको वितरण हुने जानकारी दिँदै प्रमुख श्रेष्ठले गत वर्षभन्दा सहज ढंगले मलको आपूर्ति हुने किसानलाई विश्वास दिलाए ।
उनले यस वर्ष धान रोपाइँको सिजनमा भदौसम्मका लागि अझै पनि चार हजार मेट्रिक टन युरिया, दुई हजार ५०० मेट्रिक टन डिएपी र केही मेट्रिक टन पोटास रासायनिक मलको माग भएको जानकारी दिए ।
आठ स्थानीय तहको जिल्लाका सबै पालिकामा कृषि सहकारीमार्फत रासायनिक मलको वितरण भइरहेको छ । अहिले जिल्लाका केही स्थानमा रोपाइँ सकिएको छ भने केहीमा रोपाइँ नभएको राप्तीसोनारी गाउँपालिका-४ धामपुरका किशोर रत्गैया थारुले बताए ।
४४ प्रतिशत रोपाइँ
बाँकेमा अहिलेसम्म ४४ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
ज्ञान केन्द्रले आज सार्वजनकि सूचना जारी गर्दै ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये १४ हजार ८६३.२ क्षेत्रफल जमिनमा धान रोपाइँ भएको उल्लेख गरेको छ ।
जिल्लाको सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुजिता शर्माले जानकारी दिए । २०७८ सालमा भएको कृषि गणनाअनुसार बाँकेमा ६७ हजार ८८५ कृषक रहेका छन् ।