• Menu

पर्यटक घट्दा लाङ्टाङ निकुञ्जको राजस्वमा गिरावट, चालु आवमा ४ करोड २८ लाख मात्रै संकलन

नेपाल प्रफिट

२०८३ असार २२, १०:३९

पर्यटक घट्दा लाङ्टाङ निकुञ्जको राजस्वमा गिरावट, चालु आवमा ४ करोड २८ लाख मात्रै संकलन

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ । पर्यटक सङ्ख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्धनमार्फत आयआर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ ।

निकुञ्जको तथ्यांक अनुसार गत आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा भने हालसम्म ५० हजार ३६० पर्यटक मात्र निकुञ्ज पुगेका छन् । तीमध्ये ३९ हजार ११ जना आन्तरिक, सार्क राष्ट्रका ७८८ जना र अन्य मुलुकका १० हजार ५६१ जना रहेका छन् ।

पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा पनि असर परेको छ । गत आर्थिक वर्षमा पाँच करोड ७७ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा हालसम्म चार करोड २८ लाख २२ हजार ७५६ मात्र सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य तथा धार्मिक तीर्थस्थल गोसाइँकुण्ड र लाङ्टाङ क्षेत्रले हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छन् । पर्यटनबाट प्राप्त राजस्वले निकुञ्ज संरक्षण, जैविक विविधताको व्यवस्थापन तथा स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।