• Menu

ल्यान्ड क्रुजर : रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि अगाडि

नेपाल प्रफिट

२०८३ असार १८, १७:२४

ल्यान्ड क्रुजर : रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि अगाडि

काठमाडौं । नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ । उच्च मूल्यका बाबजुद सुरक्षा, भरपर्दोपन, अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतीकका रूपमा स्थापित टोयोटा ल्यान्ड क्रुजर नेपाली धनाढ्य, उद्योगी–व्यवसायी तथा राजनीतिक नेतृत्वको प्रमुख रोजाइ बन्दै गएको हो ।

अर्कोतर्फ नेपालको भौगोलिक बनावट, सडकको अवस्था र ग्राहकको बदलिँदो आवश्यकताका कारण टोयोटाको प्रिमियम मोडलहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । उच्च मूल्यका बाबजुद सुरक्षा, आराम, अफरोड क्षमता र दीर्घकालीन भरपर्दोपनका कारण टोयोटा ल्यान्ड क्रुजर २५० र ३०० सिरिज नेपाली बजारमा उच्च आय भएका ग्राहकको रोजाइमा पर्ने गरेका हुन् ।

व्यापक सर्भिस नेटवर्क र स्पेयर पाट्र्सको सहज उपलब्धताले पनि ग्राहकको विश्वास कायम राख्न मद्दत गरेको सेल्स म्यानेजर सन्तोष कार्कीले बताए । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले ६ दशकभन्दा लामो समयदेखि बिक्री तथा सेवा प्रदान गर्दै आएको छ ।

वैद्य अर्गनाइजेसनले नेपाली बजारमा ल्यान्ड क्रुजर २५० मोडल ल्याएर बिक्री सुरु गरेको धेरै भएको छैन । कम्पनीले २०२४ मा ल्यान्ड क्रुजर २५० नेपाली बजारमा सार्वजनिक गरेको हो । दुई भेरियन्टमा उपलब्ध ल्यान्ड क्रुजरको टप भेरियन्ट ३ करोड ७९ लाख रुपैयाँ मूल्यमा बिक्री हुँदै आएको छ भने अर्को भेरियन्ट ल्यान्ड क्रुजर २५० अलराउन्डर ३ करोड २२ लाख रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यस्तै, नेपाली बजारमा ल्यान्ड क्रुजर २५० भन्दा अलि महँगो ल्यान्ड क्रुजर ३०० सिरिजको मूल्य ५ करोड ३९ लाख रुपैयाँ निर्धारण गरिएको छ । टोयोटा विश्वभर नै यसको गुणस्तर, टिकाउपन र विश्वसनीयताका लागि चिनिन्छ । ठुलो लगानी गर्ने मान्छेले आफ्नो लगानी कत्तिको सुरक्षित छ भनेर बुझ्दा टोयोटा नै भेट्टाउँछ, जसका कारण महँगो भएपनि धेरैको रोजाइमा यो पर्ने गरेको छ ।

विशेषतः ठूला उद्योगपति, व्यवसायी, राजनीतिक दलका नेताको रोजाइमा पर्ने ल्यान्ड क्रुजर टोयोटा ब्रान्डकै सबैभन्दा महँगा एसयूभीमध्येमा पर्छ । प्रिमियम र लक्जरी सेगमेन्टका गाडी खरिद गर्ने ग्राहक अहिले पनि आफ्नो परम्परागत र भरपर्दो ब्रान्डमै अडिग छन् ।

टोयोटा ल्यान्ड क्रुजर विश्वभर नै उच्च ‘रिसेल भ्यालु’का लागि परिचित मोडल हो । यसको ‘रिसेल भ्यालु’ अन्य गाडीको तुलनामा धेरै राम्रो हुन्छ । वर्षौं पुराना मोडलहरू पनि नेपालमा अझै महँगो मूल्यमा बिक्री भइरहेका छन् ।

विगतको तुलनामा अहिले प्रिमियम गाडीको संख्या पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको कम्पनीका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठ बताउँछन् । टोयोटाका ल्यान्ड क्रुजर २५० र ल्यान्ड क्रुजर ३०० सिरिज यो वर्ष राम्रो बिक्री भएको उनले बताए । नेपाली बजारमा ल्यान्ड क्रुजर सन् २०२४ मा सार्वजनिक भएको थियो ।

श्रेष्ठका अनुसार अफरोड क्षमता, भरपर्दोपन, स्पेयर पार्टसको उपलब्धता तथा उच्च पुनर्बिक्री मूल्यले बिक्री वृद्धिमा योगदान पुर्‍याएको छ । ‘कहिलेकाहीँ मूल्यभन्दा पनि आफ्नो सुरक्षा र आराम महत्त्वपूर्ण हुन्छ । टोयोटा गाडी चलाउँदा चार्ज कतिबेला सकिन्छ वा कहाँ चार्ज गर्ने भन्ने ‘एन्जाइटी’ हुँदैन,’ उनले भने ।

पेट्रोल–डिजेल गाडी चलाउँदा ढुक्क भइने र जहाँ गए पनि सुरक्षित फर्किएर आइन्छ भन्ने विश्वास हुने उनले बताए । ‘यस्तो अवस्थामा मूल्यले त्यति धेरै अर्थ राख्दैन,’ उनले भने । गाडी महँगो हुँदा यसले सामाजिक प्रतिष्ठा पनि झल्काउने भएकाले मान्छेले आफ्नो स्टाटस मेन्टेन गर्नका लागि पनि यसमा लगानी गर्ने श्रेष्ठ बताउँछन् ।

कम्पनीका अनुसार ल्यान्ड क्रुजर २५० र ३०० सिरिजले अफरोड तथा दुर्गम क्षेत्रमा समेत सहज यात्रा अनुभव प्रदान गर्छन् । उत्कृष्ट सस्पेन्सन, इलेक्ट्रोनिक पावर स्टेरिङ तथा अत्याधुनिक सुरक्षा प्रणालीले यी गाडीलाई प्रिमियम एसयूभी वर्गमा स्थापित गरेको छ ।

ग्राहकले टोयोटा रोज्नुको प्रमुख कारण यसको ‘डुराबिलिटी’ र ‘रिलायबिलिटी’ हो । लामो दूरीको यात्रा, अफरोड ड्राइभिङ तथा देशका विभिन्न भूभागमा निर्बाध सञ्चालन गर्न सकिने भएकाले धेरै ग्राहकको पहिलो रोजाइ टोयोटा बन्ने गरेको छ ।

‘सुरक्षाको दृष्टिले पनि ल्यान्ड क्रुजर अब्बल मानिन्छ । यसमा ८–९ वटासम्म एयरब्याग, विभिन्न सेफ्टी फिचर तथा आरामदायी ड्राइभिङ अनुभव उपलब्ध छ । यही कारण ग्राहकले मूल्यभन्दा गुणस्तरलाई बढी प्राथमिकता दिने गरेका छन्,’ श्रेष्ठ भन्छन्, ‘टोयोटा ब्रान्डसँग जोडिएको सामाजिक प्रतिष्ठा पनि बिक्री बढ्नुको अर्को कारण हो । महँगो गाडीले सामाजिक स्तर झल्काउने भएकाले व्यवसायी, उद्यमी तथा उच्च आय भएका व्यक्तिहरूबीच ल्यान्ड क्रुजर लोकप्रिय छ ।’

कोभिडमा घट्यो, अहिले पुनः बढ्दो

कम्पनीका अनुसार भूकम्पले बिक्रीमा खासै असर नपारे पनि कोभिड–१९ महामारीका बेला बिक्री प्रभावित भएको थियो । व्यावसायिक गतिविधि सुस्त हुँदा धेरै ग्राहकले नयाँ गाडी खरिद स्थगित गरेका थिए । तर, आर्थिक गतिविधि विस्तारसँगै बिक्री पुनः बढ्न थालेको कम्पनीले जनाएको छ ।

हाल सेयर बजारको अवस्थाले पनि केही हदसम्म बिक्रीमा प्रभाव पार्न सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले आफ्नो आर्थिक अवस्था हेरेर खरिद निर्णय गर्ने भएकाले बजारमा आउने उतारचढावले प्रिमियम गाडीको मागलाई प्रभावित गर्छ ।

ईभी भर्सेस ल्यान्ड क्रुजर

श्रेष्ठका अनुसार ल्यान्ड क्रुजर खरिद गर्ने ग्राहक र विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहक फरक छन् । दैनिक प्रयोजनका लागि ईभी लोकप्रिय बन्दै गए पनि लामो दूरी, अफरोड यात्रा तथा देशैभर ढुक्कसँग यात्रा गर्नका लागि आज पनि डिजेल गाडी र त्यसमा पनि टोयोटा नै ग्राहकको प्राथमिकतामा पर्ने गरेका छन् ।

केही समयअघि एक्कासि युरो–६ मापदण्ड लागू भएपछि केही समय स्टक अभाव भएको थियो । केही ग्राहकले युरो–३ नै रुचाएकाले बिक्रीमा असर परेको कम्पनीले जनाएको छ ।

ग्राहकले टोयोटा नै किन रोज्छन् ?

नेपाली समाजमा पैसा कमाएपछि टोयोटा किन्ने भन्ने एउटा स्थापित मान्यता नै बनिसकेको छ । नेपालको चुनौतीपूर्ण भूगोलका लागि यो गाडी पूर्ण रूपमा उपयुक्त छ । यसमा सुरक्षाका लागि ८–९ वटा सम्म एयरब्याग र अत्याधुनिक सेफ्टी फिचरहरू उपलब्ध छन् ।

टोयोटा महँगो र प्रिमियम सेग्मेन्टमा पर्ने गाडी भएकाले यसले मालिकको सामाजिक स्तर र प्रतिष्ठा झल्काउँछ । विशेषगरी ल्यान्ड क्रुजर र प्राडो जस्ता मोडलहरू पुराना भए पनि बजारमा लामो समय स्टक नबस्ने र राम्रो मूल्यमा बिक्री हुने भएकाले धेरै ग्राहकले यसलाई दीर्घकालीन लगानीको रूपमा समेत हेर्ने गरेको ब्रान्ड रणनीतिकार प्रशान्त खत्रीले बताए ।

हाल ल्यान्ड क्रुजरका प्रमुख ग्राहक व्यवसायी, उद्यमी, उच्च आय भएका व्यक्ति तथा राजनीतिक व्यक्तित्वहरू छन् । टोयोटा ल्यान्ड क्रुजर प्रयोग गर्नेहरूमा युवा पुस्ताको संख्या बढी देखिने गरेको उनले जानकारी दिए ।

‘यसको लुक्स र रोड प्रेजेन्स एकदमै दमदार छ । बजारमा अन्य ब्रान्डका ७ करोडसम्म पर्ने गाडीहरू आए पनि ती सामान्य कार जस्ता देखिन्छन् तर ल्यान्ड क्रुजर गुड्दा मान्छेले छुट्टै नजरले हेर्छन्,’ उनले भने ।