
काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धक तथा ढुंगानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त महाप्रबन्धक रावल कैलालीका हुन् भने कार्यकारी निर्देशक ढुंगाना मोरङका निवासी हुन्। मन्त्रिपरिषद्को उक्त निर्णयसँगै दुवै निकायले नयाँ नेतृत्व पाएका छन् ।
को हुन् रावल ?
हिक्मतबहादुर रावल नेपाली पत्रकारितामा दुई दशकभन्दा बढी समयदेखि सक्रिय र अनुभवी सञ्चारकर्मीका रूपमा परिचित छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ मा जन्मिएका रावल हाल धनगढीमा बसोबास गर्दै आएका छन् । पत्रकारिता, सम्पादन, मिडिया नेतृत्व र अनुसन्धानका क्षेत्रमा उनले उल्लेखनीय योगदान दिएका छन् ।
रावल विगत चार वर्षदेखि बीबीसी नेपाली सेवामा कार्यरत छन् । त्यसअघि उनले ग्यालेक्सी फोरके, न्युज२४ टेलिभिजन र एभिन्युज टेलिभिजनमा प्रदेश प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए । स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका समाचार, समसामयिक मुद्दा र सामाजिक सरोकारका विषयमा उनले निरन्तर कलम चलाउँदै आएका छन् ।
पत्रकारितामा क्षेत्रमा उनीसँग करिब २५ वर्षको सक्रिय अनुभव छ । उनले विभिन्न स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा रिपोर्टर, सम्पादक र व्यवस्थापकीय भूमिकामा लामो समय काम गरेका छन् । समाचार संकलन, सम्पादन, नेतृत्व र मिडिया व्यवस्थापनमा उनको अनुभव विशेष रूपमा उल्लेखनीय मानिन्छ ।
रावलले नेपाल–भारत पत्रकार संघको अध्यक्षका रूपमा सात वर्ष नेतृत्व प्रदान गरेका छन् । यस अवधिमा उनले नेपाल र भारतका पत्रकारबीच सहकार्य, संवाद र पेशागत सम्बन्ध विस्तारमा सक्रिय भूमिका खेलेका थिए ।
आमसञ्चार तथा पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले अंग्रेजी साहित्यमा स्नातक गरेका छन् । यसका अतिरिक्त उनले विभिन्न अनुसन्धान तथा मिडिया अध्ययनसम्बन्धी तालिम र अध्ययनमा समेत सहभागिता जनाएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal