• Menu

सिटिजन्स बैंकद्वारा बाराको विश्रामपुरमा निःशुल्क आँखा परीक्षण

नेपाल प्रफिट

२०८३ असार १८, ०८:१५

सिटिजन्स बैंकद्वारा बाराको विश्रामपुरमा निःशुल्क आँखा परीक्षण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मधेस प्रदेशको बारामा पर्ने विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।

स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजना गरिएको यस शिविरले समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा राखेको छ । शिविरमा करिब ८ सय सेवाग्राहीले निःशुल्क आँखा परीक्षण गराएका छन् भने परीक्षणका क्रममा करिब १५० जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने व्यवस्था गरिएको छ ।

असार १२ देखि १६ सम्म सञ्चालन भएको शिविर बरैनीया, छतवा, मुसहरवा, बलिरामपुर तथा नकटुवालगायतका स्थानमा आयोजना भएको बैंकले जनाएको छ । स्थानीय बासिन्दालाई समयमै आँखा परीक्षण गराई दृष्टिसम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहभागी गराई लाभ पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यक्रममार्फत बैंकले समुदायको स्वास्थ्य सुधार, अन्धोपन न्यूनीकरण तथा जनजीवनको गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट र सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।

बैंकले अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने गरी क्रस बैंक टेलर सुविधा पनि सञ्चालन गरिरहेको छ । सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २ सय शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइबाट २० लाख ३७ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।