• Menu
s

सिटिजन्स बैंकको विशेष साधारण सभाबाट २ अर्बको प्रिफरेन्स सेयर जारी गर्ने निर्णय

नेपाल प्रफिट

२०८३ असार ३, बुधबार २१:३३

सिटिजन्स बैंकको विशेष साधारण सभाबाट २ अर्बको प्रिफरेन्स सेयर जारी गर्ने निर्णय

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको आठौं विशेष साधारण सभाले २ अर्बको प्रिफरेन्स सेयर जारी गर्ने निर्णय गरेको छ । प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न बैंकले २ अर्ब रुपैयाँँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार सम्पन्न विशेष साधारणसभाले बैंकको नियमावलीअनुसार संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै सेयरधनी अनिलकुमार ज्ञवालीलाई निर्वाचित गरेको छ । त्यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसीलाई सञ्चालक समितिमा निर्वाचित गरिएको छ ।

मैनाली देशकै ख्यातिप्राप्त एक संयुक्त लगानीको वाणिज्य बैंकमा ९ वर्षभन्दा बढी कार्यानुभवका साथै सेवामूलक उद्योग तथा कुखुरा एवं पन्छीपालमा लामो समयदेखि आबद्ध छन् ।

अर्का सञ्चालक ज्ञवालीसँग नेपालका ठूला दुई वाणिज्य बैंक र नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभवसमेत छ ।

अर्का सञ्चालक समिति सदस्य डा. राजेन्द्र पण्डितले २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । एमएस्सी र अर्थशास्त्रमा एमए गरेका उनले दुई दशकभन्दा लामो समय विश्लेषणात्मक र नीति विश्लेषणका क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेका छन् ।

सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएकी सञ्चालक समितिका सदस्य खड्का केसीले विभिन्न अन्र्तराष्ट्रिय विकास संस्थाहरूमा वरिष्ठ नेतृत्व एवं कार्यक्रम व्यवस्थापकको रुपमा २० वर्षभन्दा बढी काम गरेकी छन् ।

सिटिजन्स बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट २० लाख ३२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।