
काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित नवप्रवर्तन पुरस्कार-२०२६ अन्तर्गत व्यावसायिक नमुना नवप्रवर्तन विधामा उच्चतम प्लेटिनम पुरस्कारबाट सम्मानित भएको छ ।
बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनीय पहलका लागि उक्त सम्मान प्राप्त गरेको जनाएको छ ।
सूचना प्रविधिमा आधारित बैंकिङ प्रणाली विकास गर्ने अन्तर्राष्ट्रिय संस्थाद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो पुरस्कार कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन तथा रूपान्तरण अभ्यासहरूको मूल्यांकन गरी प्रदान गरिन्छ। यस वर्ष नौ विधामा पाँच सयभन्दा बढी आवेदन परेका थिए ।
कुमारी बैंकले आफ्नो ग्राहक पहिचान तथा अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्लेटिनम सम्मान हासिल गरेको हो। बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डको पूर्ण पालना गर्न सहयोग पुर्याएको छ ।
डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई अझ पारदर्शी, भरपर्दो र विश्वसनीय बनाउन पनि उक्त प्रणालीले महत्वपूर्ण योगदान दिएको बैंकले जनाएको छ ।
यो अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप बलियो बनाएको जनाएको छ । बैंकले आगामी दिनमा प्रविधिमैत्री सेवाको विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal