• Menu
s

बागमती प्रदेशमा १ हजार अतिविपन्न परिवारका लागि सुरक्षित आवास बन्ने, २० करोड विनियोजन

नेपाल प्रफिट

२०८३ असार ३, बुधबार १३:१३

बागमती प्रदेशमा १ हजार अतिविपन्न परिवारका लागि सुरक्षित आवास बन्ने, २० करोड विनियोजन

मकवापुर । बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ ।

सोमबार सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले उक्त आवास निर्माण गरी वितरण गर्न २० करोड विनियोजन गरिएको बताए ।

सरकारले प्रशासनिक पुनर्संरचनाद्वारा मन्त्रालय-निकायहरू घटाइएको भन्दै उनले प्रदेशको चालु खर्चमा ११ प्रतिशतले बचत हुने अनुमान गरिएको जानकारी दिए । प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन, प्रदेशसभा भवन तथा आवास निर्माणका लागि ५६ करोड ५० लाख विनियोजन गरिएको छ ।

मन्त्री तामाङका अनुसार मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत युवा स्वरोजगार, उद्यमशीलता, प्रादेशिक स्टिम-आइटी विद्यालय, विद्यार्थी ह्याकाथन र स्मार्ट शिक्षा आइटी स्किल फेलोसिपका लागि २० करोड विनियोजन गरिएको छ ।

युवा स्वरोजगार ब्याज अनुदान कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका दक्ष जनशक्ति, घरेलु र आइटी उद्यमीहरूलाई कर्जामा ब्याज अनुदान दिन २० करोड विनियोजन गरिएको उनले बताए ।

प्रदेश गौरवका आयोजनाका रूपमा हेटौंडामा प्रदेश राजधानी चक्रपथ, गौरीटार रंगशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासकीय भवनलाई अघि बढाइने बजेटमा उल्लेख गरिएको छ ।