• Menu
s

काठमाडौंका टोल टोलमा फिल्म महोत्सव, ८ वटा स्थानीय संस्थाले पाए व्यवस्थापनको जिम्मा

नेपाल प्रफिट

२०८३ असार ३, बुधबार १०:५०

काठमाडौंका टोल टोलमा फिल्म महोत्सव, ८ वटा स्थानीय संस्थाले पाए व्यवस्थापनको जिम्मा

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा स्थानीय व्यवस्थापनका लागि ८ वटा संस्थाहरू छनोट भएका छन् । ३ वटा वैकल्पिक सूचीमा परेका छन् ।

सम्पदा तथा पर्यटन विभागले आव्हान गरेको सूचनाबाट पेस भएका २० वटा प्रस्तावको मूल्यांकबाट व्यवस्थापनको काम गर्ने संस्था छानिएको विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । राईका अनुसार महानगरपालिकाले आयोजना गर्ने महोत्सवमा स्थान चयन, क्रियाकलाप प्रस्तावकबाट माग गरिएको थियो ।

यसका आधारमा प्रस्तावकले पेस गरेका क्रियाकलाप र क्रियाकलाप सञ्चालन गर्दा लाग्ने खर्च लगायत सूचकमा प्रदान गरिएको अंक भारका आधारमा संस्था चयन भएका हुन् ।

महोत्सवमा प्रदर्शन गरिने लघु चलचित्र, चलचित्र प्रदर्शनका लागि एलईडी तथा साउन्ड सिस्टम, क्युरेटरलगायत सहयोग महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले उपलब्ध गराउनेछ । महोत्सवको व्यवस्थापन स्थानीय संस्थाहरूले गर्नेछन् ।

महोत्सव असार ५ गते खुला मञ्चबाट सुरु हुनेछ । यो कार्यक्रमको व्यवस्थापन ‘इकोज इन द भ्याली’ले गर्नेछ । ६ गते असनमा हुने कार्यक्रमको व्यवस्थापन नीलः सांस्कृतिक क्लवले गर्नेछ ।

असार महिनाभरि हरेक शुक्रबार र शनिबार आयोजना हुनेछ । यस अन्तर्गत येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा स्यनेकने फाउन्डेसन, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोल, मैतीदेवी युनाइटेड क्लवले मैतीदेवी मन्दिर खुला चौरमा कार्यक्रम व्यवस्थापन गर्नेछन् ।

महोत्सवमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम हुनेछन् ।

महानगरले आउँदो आर्थिक वर्षमा आयोजना गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्ने गरी टोल टोलमा फिल्म महोत्सवको कार्यक्रम आयोजना गरिएको हो ।