• Menu
s

ट्राफिक व्यवस्थापन र जनचेतनाका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य हुने

नेपाल प्रफिट

२०८३ असार १, १६:१९

ट्राफिक व्यवस्थापन र जनचेतनाका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य हुने

काठमाडौं  । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन तथा जनचेतना अभिवृद्धिका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो।

भेटका क्रममा प्रमुख काफ्लेले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यालय र नाडाबीच दीर्घकालीन तथा सिर्जनात्मक विषयमा सहकार्य आवश्यक रहेको बताए। उनले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि पहल गर्न नाडालाई आग्रह गरे।

काफ्लेले सवारी साधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टरका कर्मचारी तथा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिने व्यक्तिलाई ट्राफिक कार्यालयबाट करिब एक घण्टाको छोटो प्रशिक्षण दिने व्यवस्था गर्न सके ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

छलफलमा अध्यक्ष उप्रेतीले विगतदेखि ट्राफिक प्रहरी कार्यालयसँग नाडाले गर्दै आएको सहकार्यबारे जानकारी गराउँदै आगामी ५०औँ वार्षिक साधारण सभा तथा स्वर्ण उत्सवको अवसरमा असार १३ देखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको बताए। उक्त कार्यक्रमलाई सफल बनाउन ट्राफिक प्रहरी कार्यालयको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

उप्रेतीले नाडाले स्टिकरमार्फत ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको जानकारी दिए।

कार्यक्रममा नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिन संस्था प्रतिबद्ध रहेको बताए। छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवालले पनि आ-आफ्ना धारणा राखेका थिए।