• Menu
s

विश्वकप प्याकेजको गुनासोका लागि नेपाल टेलिकम छुट्टै सम्पर्क नम्बर

नेपाल प्रफिट

२०८३ असार १, ०६:०२

विश्वकप प्याकेजको गुनासोका लागि नेपाल टेलिकम छुट्टै सम्पर्क नम्बर

काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ल्याएको ‘टिभी प्याकेज’ सम्बन्धी समस्या, जिज्ञासा तथा गुनासो सम्बोधनका लागि चौबिसै घण्टा ग्राहक सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार प्याकेज खरिदका क्रममा कुनै समस्या आएमा वा गुनासो भएमा ग्राहकले १९८ नम्बरमा सम्पर्क गर्ने गरी नम्बरको व्यवस्था गरेको हो ।

साथै, प्याकेज खरिदसँग सम्बन्धित गुनासो समाधानका लागि वैकल्पिक नम्बर ०१–५९७००१९ समेत सञ्चालनमा ल्याइएको छ । प्राप्त गुनासोलाई प्राथमिकताका आधारमा सम्बोधन गरिने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका ग्राहकले ९९९ रुपैयाँमा विश्वकप विशेष टिभी प्याकेज खरिद गरी फिफा विश्वकप २०२६ का खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेट सेवा नयाँ जडान गर्ने, नवीकरण गर्ने वा कम गतिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा स्तरोन्नति गर्ने ग्राहकले उक्त विश्वकप प्याकेज निःशुल्क बोनसका रूपमा प्राप्त गर्न सक्नेछन् ।

बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट ८१४१६३ मा सम्पर्क गरी आवश्यक निर्देशनअनुसार सेटटप बक्सको विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार टिभीमार्फत हिमालय स्पोर्टस च्यानल चयन गरेपछि देखिने विशेष प्रवेश स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ ।

त्यसपछि प्राप्त हुने ओटीपी टेलिभिजन स्क्रिनमा प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ । नेपाल टेलिकमले नजिकको ग्राहक सेवा केन्द्रबाट समेत उक्त विश्वकप प्याकेज सक्रिय गर्न सकिने जनाएको छ । विश्वकप अवधिभर ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विशेष सहायता प्रणाली सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।