• Menu
s

भीमफेदी-बैदमार जीप दुर्घटना : द्रुतमार्गका इन्जिनियर र चालकको मृत्यु

नेपाल प्रफिट

२०८३ जेठ २८, १०:५३

भीमफेदी-बैदमार जीप दुर्घटना : द्रुतमार्गका इन्जिनियर र चालकको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ ।

काठमाडौं दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ-काठमाडौं द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो ।

जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बारा जिल्ला पचरौता नपा-७ का इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नपा-९ का चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउनासाथ निजगढ-काठमाडौं द्रुतमार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएकामा चिकित्सकले दुवै जनाको मृत्युको घोषणा गरेको हो ।