चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ-मलेखु सडकखण्डका चारवटा पुल असारमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् ।
नागढुंगा-मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । उनका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ । पुलको प्लास्टर, रङरोगन, ट्राफिक सुरक्षालगायत सामान्य कामहरू बाँकी छन् ।
‘समग्रमा ९० प्रतिशतभन्दा बढी काम भएका छन् । हामी असारभित्र पुल सञ्चालनको तयारीमा छौँ,’ उनले भने । सोही खण्डको हुग्दी र चरौँदी खोलाको पुल निर्माणाधीन छ ।
हुग्दीको ३० प्रतिशत र चरौँदीको ५० प्रतिशत काम भएको उनले बताए । ती पुलको भुइँ र पिल्लरको काम भइरहेको छ । सो सडक खण्डमा अलकत्राको अभावमा रोकिएको कालोपत्रको काम गर्ने तयारी गरिएको छ ।
मिश्रका अनुसार निर्माण कम्पनीले एक दुई दिनमा अलकत्रा आउने र कालोपत्र गर्न सक्ने बताएको छ । उनका अनुसार सबबेस राखिसकेको करिब दुई किलोमिटर सडकमा बेस राखेर कालोपत्र गर्ने तयारी गरिएको छ । यो बन्दै गर्दा थप ठाउँ कालोपत्रको तयारी गर्न सकिने उनले जानकारी दिए ।
अलकत्राको मूल्य बढेर आउन छोडेपछि कालोपत्र काम रोकिएको थियो । ढल निर्माण, रेलिङलगायतका काम भने भइरहेको उनले बताए । सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सो खण्डमा ३८.८६ किलोमिटर सडक पर्छ । यस खण्डमा २.२ किमी ६ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ ।
त्यस्तै ७.२ किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्नेछ । उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने छ । ‘क्लाइम्बिङ’ मार्ग २.३ किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।
निर्माण कम्पनीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा, पुल निर्माणलगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।
गत पुसमा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ । अरू म्याद थपका लागि प्रक्रियामा रहेको छ ।