काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत २९७ किलोमिटर उच्च क्षमताको ४०० केभी प्रसारण लाइन निर्माणको काम सुरु भएको छ ।
एमसीसी कम्प्याक्ट अन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइन मध्ये २९७ किलोमिटर लामो लप्सीफेदी-रातमाटे-न्यु हेटौँडा, रातमाटे-न्यु दमौली र न्यु दमौली-न्यु बुटवल खण्डको निर्माण औपचारिक रूपमा सुरु गरिएको हो ।
बाँकी १८ किलोमिटर नयाँ बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण भने पहिले नै सुरु भई धमाधम काम भइरहेको छ । नेपालमा एमसीसी कम्प्याक्ट कार्यान्वयन गरिरहेको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समितिले एकसाथ २९७ किलोमिटर प्रसारण लाइन तथा नुवाकोटस्थित ४०० केभी रातमाटे सबस्टेसन र तनहुँमा ४०० केभी नयाँ दमौली सबस्टेसनको पनि निर्माण सुरु गरिएको जनाएको छ ।
सरकारका वरिष्ठ अधिकारीहरू, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधिहरू, विकास साझेदारहरू, निर्माण व्यवसायीहरू, स्थानीय सरोकारवालाहरू, सञ्चार माध्यम र सामुदायिक अगुवाहरूको सहभागितामा शिलान्यास गरी प्रसारण लाइन र सबस्टेसन निर्माणको काम औपचारिकरूमा सुरु गरिएको एमसिए-नेपालले जनाएको छ ।
नेपाल र अमेरिकाको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माणको प्रक्रिया कार्यन्वयनमा गएको छ ।
प्रसारण लाइन पूर्वाधार निर्माण सम्पन्न हुँदा नेपालको राष्ट्रिय विद्युत ग्रीडलाई सदृढ पार्नुका साथै प्रसारण अवरोध न्युनीकरण गर्न योगदान पुग्ने एमसिए-नेपालको दाबी छ ।
यो प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा घरायसी प्रयोजन तथा व्यवसायहरूका लागि दीगो र गुणस्तरीय विद्युत आपूर्ति सुधार हुनुको साथै क्षेत्रीय विद्युत् बजारमा नेपालको विद्युतको पहुँच पुर्याउन पनि महत्त्वपूर्ण हुने एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए ।
शिलान्यास समारोहमा सरकारले यो प्रसारण लाइन आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको अर्थ मन्त्रालयका सचिव तथा एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले बताए । ‘ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक छ,’ उनले भने ।
यस्तै, नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी कम्प्याक्टमार्फत अमेरिका नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण गर्न साझेदार बनेको बताए । ‘उच्च क्षमताको प्रसारण लाइन निर्माणले देशभित्र विद्युत आपूर्ति भरपर्दो हुनुका साथै अन्तरदेशीय विद्युत व्यापारका लागि पनि उच्च क्षमताको पूर्वाधार तयार हुनेछ,’ उनले भने । यस्तै, उद्योगधन्दा, कलकारखाना तथा कृषि क्षेत्रको विकासमा पनि योगदान पुग्ने उनले बताए ।
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले नेपालको आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा विकासमा एकीकृत प्रसारण पूर्वाधार बन्न लागेको बताए । ‘प्रसारण लाइनले देशभित्रको विद्युत प्रणाली दीगो र गुणस्तरीय बनाउन तथा उद्योग, व्यवसायका लागि पनि नियमित आपूर्ति हुनेछ,’ उनले भने, ‘एमसीसी कम्प्याक्टको रूपान्तरणकारी पूर्वाधार निर्माणमा नेपालसँग साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको छ ।’
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण भइरहेका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसन कुनै छुट्टै प्रणाली नभई नेपालको राष्ट्रिय प्रसारण सञ्जालकै महत्त्वपूर्ण विस्तार भएको नेपाल विद्युत प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए ।
प्रसारण लाइन निर्माणमा जाँदा नेपालको ऊर्जा पूर्वाधार विकासमा एउटा कोसेढुंगाका रूपमा स्थापित हुँदै गएको एमसिए–नेपालका कार्यकारी निर्देशकले विष्टले बताए । उनले उच्च क्षमताको प्रसारण लाइन आयोजना निर्माणले विद्युत् प्रसारण प्रणालीमा रहेका अवरोधहरू न्युनीकरण गर्नुका साथै अन्तरदेशीय विद्युत व्यापारमा पनि योगदान पुग्ने बताए ।
प्रसारण लाइन र सबस्टेसन निर्माणको काम चार वटा निर्माण कम्पनीले गर्नेछन् । टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यु दमौली सबस्टसन निर्माण गर्दैछ । आशिष-बोझ्लर संयुक्त उपक्रम (जेभी) ले ११७ किलोमिटर लामो लप्सीफेदी-रातमाटे-न्यु हेटौँडा प्रसारण लाइन खण्ड, र एञ्जेलिक-स्किपर संयुक्त उपक्रम (जेभी)ले ९० किलोमिटर लामो रातमाटे-नयाँ दमौली प्रसारण लाइन खण्ड र वाइबा-सालसर संयुक्त उपक्रम (जेभी)ले ९० किलोमिटर लामो नयाँ दमौली-नयाँ बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्दैछन् ।
निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेसन र न्यु दमौली सबस्टेसन सबैभन्दा उच्च भोल्टेज क्षमताका सबस्टेसन हुनेछन् । यी सबस्टेसन तथा प्रसारण लाइन पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा मागलाई सम्बोधन गर्न र आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग गर्नेछन् ।
अमेरिकाले एमसीसी कम्प्याक्टअन्तर्गत दिएको ५५ करोड अमेरिकी डलर अनुदान तथा नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा साझेदारीले अन्तर्राष्ट्रिय स्तरको उच्च क्षमताको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्यमा लगानी भई सबै पूर्वाधार आयोजनाको निर्माण कार्य अगाडि बढाइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal