काठमाडौं । प्रतिनिधिसभामा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ प्रस्तुत भएको छ । सभाको बुधबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक प्रस्तुत गर्न अनुमति लिनेसम्बन्धी प्रस्तावमा कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराए । अर्थमन्त्रीले राखेको उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानुनी सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताए ।
‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय वित्तीय क्षेत्रमा आएको परिवर्तन, वित्तीय प्रणालीको विस्तार, डिजिटल प्रणालीको प्रयोग तथा केन्द्रीय बैंकको भूमिका आएको विकासलाई दृष्टिगत गर्दा प्रचलित ऐनका केही व्यवस्थालाई थप स्पष्ट, व्यवस्थित र समयानुकूल बनाउन आवश्यक छ,’ उनले भने ।