
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति आफ्नो धारणा सार्वजनिक गर्दै विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधनको मूल्य वृद्धि हुने संकेत देखिएको जनाएको छ ।
नाडाका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गर्ने व्यवस्था गरिएको छ। साथै सवारीसाधनमा मोटर वा इन्जिन क्षमताका आधारमा लाग्दै आएको महसुललाई कारोबार मूल्यका आधारमा निर्धारण गर्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।
नाडाले लामो समयदेखि स्थिर कर नीतिको माग गर्दै आएको उल्लेख गर्दै सरकारले विशेषगरी विद्युतीय सवारीसाधन प्रवर्धन गर्ने नीति अवलम्बन गर्ने अपेक्षा राखिएको जनाएको छ। तर नयाँ व्यवस्थाअनुसार मूल्यका आधारमा कर निर्धारण गरिनुका साथै थप शुल्कसमेत लगाइएकाले अधिकांश सवारीसाधनको मूल्य बढ्न सक्ने नाडाको भनाइ छ ।
सवारीसाधनको मूल्य स्थिर राख्न नेपाली रुपैयाँको सट्टा अमेरिकी डलरका आधारमा कर निर्धारण गर्नु बढी व्यावहारिक हुन सक्ने सुझाव पनि नाडाले दिएको छ ।
यद्यपि, बजेटमा सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको विषयलाई नाडाले सकारात्मक रूपमा लिएको छ। बजेटमार्फत झण्डै तीन खर्ब रुपैयाँ सडक पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको तथा अधुरा सडक र राजमार्ग समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएकाले सरकार पूर्वाधार विकासप्रति प्रतिबद्ध रहेको देखिएको नाडाको धारणा छ ।
नाडाले द्रुतगतिमा सडक पूर्वाधार विस्तार भएमा नेपालको समग्र अटोमोबाइल व्यवसाय समेत थप गतिशील हुने विश्वास व्यक्त गरेको छ। साथै बजेट महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके देशको अर्थतन्त्रलाई गति दिने उल्लेख गर्दै समग्रमा बजेटलाई सन्तुलित र भविष्य निर्माणमुखी दस्तावेजका रूपमा मूल्यांकन गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal