• Menu
s

५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको ५ प्रतिशत भ्याट फिर्ता लिन माग

नेपाल प्रफिट

२०८३ जेठ २१, १७:३८

५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको ५ प्रतिशत भ्याट फिर्ता लिन माग

काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्न माग गरेको छ । महासंघका अध्यक्ष नारायण ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गरी प्राधिकरणको पुनर्संरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्नुपर्ने बताए ।

उनले विद्युत वितरण प्रणालीलाई चुस्त बनाउन, चुहावट नियन्त्रण गर्न र सेवालाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गरे । ‘विद्युत वितरण व्यवस्थापनमा स्थानीय सरकार र सामुदायिक संस्थाको सक्रिय सहभागिता भएमा मात्र सेवा प्रवाह छिटोछरितो र जवाफदेही बन्न सक्छ,’ अध्यक्ष ज्ञवालीले भने ।

महासंघले ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्तामाथि लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता लिनुपर्ने, विद्युत् महसुल दरलाई वैज्ञानिक, व्यावहारिक र समुदायमैत्री बनाउन पुनरावलोकन गर्नुपर्ने, कृषि, सिँचाइ र उद्योगमा विद्युत् खपत बढाउन विशेष सहुलियत प्याकेज ल्याउनुपर्ने मागसमेत गरेको छ ।

नेपालमा हाल करिब चार हजार ९०० मेगावाट विद्युत उत्पादन क्षमता पुगेको सन्दर्भमा स्वदेशमा खपत बढाउनु आवश्यक रहेको महासंघले जनाएको छ ।