• Menu
s

नाडा प्रतिनिधिमण्डल र मधेशका अर्थमन्त्री भट्टराईबीच भेटवार्ता, अटोमोटिभ क्षेत्रका ३ प्रमुख एजेन्डा प्रस्तुत

नेपाल प्रफिट

२०८३ जेठ २०, बुधबार १७:२५

नाडा प्रतिनिधिमण्डल र मधेशका अर्थमन्त्री भट्टराईबीच भेटवार्ता, अटोमोटिभ क्षेत्रका ३ प्रमुख एजेन्डा प्रस्तुत

धनुषा । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरी अटोमोटिभ क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा छलफल गरेको छ ।

व्यापारिक समुदायसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले अर्थमन्त्री भट्टराईकै पहलमा आयोजित उक्त भेटमा नाडाले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक आर्थिक संरचनाको महत्वपूर्ण अंगका रूपमा प्रस्तुत गरेको थियो। नाडाका अनुसार अटोमोटिभ क्षेत्रले कुल सरकारी राजस्वमा २० प्रतिशतभन्दा बढी योगदान पुर्‍याउँदै देशभर करिब एक लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

छलफलका क्रममा नाडाले दर्ता शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) संरचनामा बहुवर्षीय नीतिगत स्पष्टता, माध्यमिक शहरहरूमा रहेका डिलरशिपलाई विद्युतीय सवारी साधन (ईभी) चार्जिङ केन्द्रका रूपमा विकास गर्न संयुक्त कार्यदल गठन तथा ईभी संक्रमणलाई सहज बनाउन सेवा प्राविधिकहरूको पुनःतालिमका लागि प्रादेशिक सहयोगलगायत तीन प्रमुख विषय अघि सारेको थियो ।

सो अवसरमा अध्यक्ष उप्रेतीले नाडाले कर छुट नभई नीतिगत स्पष्टता खोजिरहेको बताए। उनले दीर्घकालीन कर संरचना स्पष्ट भएमा डिलरहरूले ग्रामीण क्षेत्रमा सेवा केन्द्र विस्तार र प्राविधिक जनशक्ति व्यवस्थापनमा लगानी गर्न सक्ने उल्लेख गरे । साथै, अटोमोटिभ क्षेत्रसँग सम्बन्धित विषयमा नियमित संवादका लागि अर्थ मन्त्रालय र निजी क्षेत्रबीच स्थायी संयन्त्र स्थापना गर्न प्रस्ताव गरिएको जानकारी दिए ।

भेटवार्ताका क्रममा अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिताबिना आर्थिक विकास सम्भव नरहेको धारणा व्यक्त गरे । उनले प्रदेशमा लगानी विस्तार र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइने बताए ।

उक्त कार्यक्रममा मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, राजस्व अधिकृत जयकुमार राउतलगायतको उपस्थिति रहेको थियो । नाडाको तर्फबाट निवर्तमान अध्यक्ष करण चौधरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ तथा महासचिव मिलनबाबु मल्ल सहभागी थिए ।

सम्बन्धित समाचार