• Menu

वाणिज्य बैंकहरुको ‘प्रफिट’मा ओरालो यात्रा, दुई वर्षअघिको तुलनामा भारी गिरावट

नेपाल प्रफिट

२०८१ जेठ ९, बुधबार २०:५२

वाणिज्य बैंकहरुको ‘प्रफिट’मा ओरालो यात्रा, दुई वर्षअघिको तुलनामा भारी गिरावट

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा भारी गिरावट आएको छ । अर्थतन्त्रको आएको सुस्तताको प्रभाव बैंकहरुको वासलातमा परेको हो । दुई वर्षअघि ९ महिनाको अवधिमा ५१ अर्ब नाफा गरेका वाणिज्य बैंकले चालु आवको सोही अवधिमा साढे १० अर्ब कम खुद नाफा गरेका छन् ।

समष्टिगत मागमा आएको कमीका कारण व्यवसाय सुस्ताउँदा बैंकहरुको नाफा खुम्चिएको छ । यसबाहेक नेपाल राष्ट्र बैंकले सेवा शुल्कलगायतमा गरेको कडाइका कारण पनि बैंकहरुले आम्दानी घटेको हो ।

पाँच वर्षको ९ महिनाको नाफाको अध्ययनले बैंकहरुले नाफामा भारी गिरावट भएको देखिन्छ । बैंकहरुले आर्थिक वर्ष २०७६/७७ को पहिलो ९ महिना अर्थात् साउनदेखि चैतसम्ममा ४५ अर्ब २४ करोड रुपैयाँ नाफा गरेका थिए ।

त्यस वर्षसम्म बैंकहरुको नाफा निरन्तर उकालो लागिरहेको थियो । व्यवसाय निकै राम्रो थियो । कर्जाको माग उच्च थियो । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेका थिए ।

आव २०७७/७८ को पहिलो ९ महिनामा बैंकहरुको नाफा ५० अर्ब ७४ करोड पुग्यो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा ५ अर्बले बढेको थियो ।

अर्को वर्ष आव २०७८/७९ को साउनदेखि चैतसम्मको नाफा पनि थोरै बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंकहरुले ५१ अर्ब १ करोड नाफा गरेका थिए ।

त्यसपछि भने बैंकहरुको वासलात खस्किँदै गयो । ब्याजदर उच्च हुँदै जाँदा कर्जाको माग खस्कियो । कर्जाको ब्याजदर २०७९ फागुनमा १३.०३ प्रतिशत पुग्यो । बढी उपभोग गर्ने युवाशक्तिको विदेश यात्रा तीव्रदरले बढ्दा समष्टिगत माग संकुचन भइरहेका बेला व्यावसायिक कर्जाको माग ह्वात्तै घट्यो ।

समग्र अर्थतन्त्रमा आएको संकुचनले घरजग्गा कारोबारदेखि घर निर्माणसम्म सुस्तायो । साना व्यापार व्यवसायमा आएको सुस्तताका कारण बैंकको साँवाब्याज तिर्न नसक्ने अवस्था आयो ।

सबै गतिविधिले निराशा बढाइरहेका बेला बैंकहरुको कर्जा वृद्धिदर ३ प्रतिशत हाराहारीमा खुम्चियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतमा झर्‍यो ।

साँवाब्याज असुली प्रभावित हुँदा कर्जा नोक्सानीबापत छुट्याउनुपर्ने रकम उच्चदरले बढेर गयो । फलत: बैंकहरुको वासलातमा ठूलो प्रभाव देखियो । आव २०७९/८० मा बैंकहरुको पहिलो ९ महिनाको नाफा ४८ अर्ब ७० करोडमा झर्‍यो ।

चालु आवको ९ महिनामा पनि बैंकहरुको वासलात निराशाजनक नै छ । खराब कर्जा बढेर गएको छ । २०८० चैतमा बैंकहरुको खराब कर्जा औसत ३.६५ प्रतिशत पुगेको छ ।

कर्जा नोक्सानीबापत थप रकम छुट्याउनुपर्दा चालु आवको साउनदेखि चैतसम्मको बैंकहरुको खुद नाफा ४० अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । जबकि, फागुनसम्म बैंकहरुको खुद नाफा ४२ अर्ब ३० करोड थियो । नेपाल बैंकर्स एसोसिएसनले चालु आवमा बैंकहरुले ५६ देखि ५८ अर्ब खुद नाफा कमाउने अनुमान गरेको छ ।

चालु आवको चैतसम्ममा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तीय संस्थाको खुद नाफा ४४ अर्ब ६७ करोड छ । फागुनसम्मको तुलनामा यो कम हो । फागुनसम्म लघुवित्तबाहेकका बैंक वित्तीय संस्थाको खुद नाफा ४६ अर्ब ३८ करोड रुपैयाँ थियो ।