• Menu

विद्युतीय गाडी आयातमा उच्च वृद्धि, १० महिनामा २१ अर्ब मूल्यका साढे ८ हजार भित्रिए

नेपाल प्रफिट

२०८१ जेठ ८, १३:१६

विद्युतीय गाडी आयातमा उच्च वृद्धि, १० महिनामा २१ अर्ब मूल्यका साढे ८ हजार भित्रिए

काठमाडौं । विद्युतीय गाडीको आयातमा उच्च वृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनामा ८ हजार ४९७ विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् ।

यो गत आवको सोही अवधिको तुलनामा करिब चार गुणा धेरै हो । गत आवको साउनदेखि वैशाखसम्ममा २ हजार ९५५ वटा कार, भ्यान तथा जिप आयात भएका थिए ।

चालु आवको वैशाखसम्ममा २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँबराबरका विद्युतीय गाडी आयात भएका छन् । विभागका अनुसार यो अवधिमा ५० किलोवाटसम्मका ३ हजार ४७२ वटा कार, भ्यान र जिप आयात भएका छन् ।

त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ४ हजार ९६ वटा, १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका १०५ वटा र २०१ किलोवाट देखि ३०० किलोवाटसम्मका ६ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

विद्युतीय गाडीको आयातबापत सरकारले १० महिनामा ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आवको वैशाखमा मात्रै १ हजार ४०४ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । चैतको भन्दा वैशाखको आयात निकै धेरै हो ।

चैतमा मात्रै ६५८ वटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए । त्यस्तै फागुनमा पनि २९१ वटामात्र चार पाङ्ग्रे विद्युतीय गाडी आयात भएका थिए ।