काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको दोस्रो दिन सोमबार २७ अंकले बढेको छ । वित्त, जीवन बिमा, उत्पादनमूलक, लघुवित्त र निर्जीवनबाहेकका उपसमूह बढेपछि समग्र बजार परिसूचक २७.५४ अंकले बढेर २०९२ अंकमा उक्लिएको हो ।
बैंक समूहमा आज उछाल आएको छ । बैंक समूह आज ४.१८ प्रतिशतले बढेको हो । त्यस्तै व्यापार समूह २.२३ प्रतिशतले बढेको छ ।
कारोबार रकममा पनि उत्साह देखिएको छ । आज ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो रकम आइतबारको तुलनामा धेरै हो । आइतबार ५ अर्ब २० करोड ८२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
आज १३५ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १०७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्से आइतबार ४५ अंकले बढेको थियो ।