काठमाडौं । सेयर बजार परिसूचकमा आइतबार ४५ अंकको उछाल आएको छ । बैंक, जीवन बिमा, निर्जीवन बिमा, अन्यलगायतका सबै १३ उपसमूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ अंकमा उक्लिएको छ ।
सबैभन्दा धेरै जीवन बिमा समूह ४.३८, निर्जीवन बिमा समूह ३.८१, अन्य समूह २.७६ र बैंक समूह २.६३ प्रतिशतले उचालिएको छ । व्यापारबाहेकका सबै उपसमूह १ प्रतिशतभन्दा धेरैले बढेका छन् ।
बजारमा उछाल आउँदा २०३ कम्पनीको मूल्य बढेको छ भने सबैको लघुवित्त, आत्मनिर्भर लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तमा सकारात्मक सर्किट लागेको छ ।
आज ३२३ कम्पनीको १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ५ अर्ब २५ करोड १० रुपैयाँबराबरमा कारोबार भएको छ । कारोबार रकममा पनि उच्च वृद्धि भएको हो । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार ४ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बिहीबार सेयर बजार ०.७९ अंकले बढेको थियो ।