पोर्चुगल । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ ।
लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्य दूतावासको आयोजना तथा गैरआवासीय नेपाली संघठनका साथै यहाँ क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो ।
भगवान् गौतमबुद्ध र बुद्ध जन्मस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउने तयारी भएको २५६८औँ बुद्धजयन्ती मूल आयोजक समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।
बुद्धजयन्तीका अवसरमा राजधानी लिस्वनमा बृहत् शोभायात्रा, बुद्धको विशेष पूजाआराधना गरिनेछ ।
बुद्धका तस्बिर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक झाँकीसहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने उनले बताए । शोभायात्रामा पोर्चुगलबासी नेपाली, बौद्ध धर्मगुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायी सहभागी हुनेछन् ।