• Menu

संयुक्त राष्ट्रसंघको प्रतिवेदन

अमेरिकासहित ठूला उदीयमान मुलुक अर्थव्यवस्था बलियो बनाउन सफल, विश्व अर्थतन्त्रमा सुधारको संकेत

उच्च ब्याजदर, निरन्तरको भू-राजनीतिक तनाव र बढ्दो जलवायु जोखिमले दिगो विकास हुनेमा भने चुनौती

नेपाल प्रफिट

२०८१ जेठ ५, शनिबार ०९:१२

अमेरिकासहित ठूला उदीयमान मुलुक अर्थव्यवस्था बलियो बनाउन सफल, विश्व अर्थतन्त्रमा सुधारको संकेत

एजेन्सी । अमेरिका र ठूला उदीयमान मुलुकहरु अर्थव्यवस्था बलियो बनाउन सफल हुँदा विश्वव्यापी आर्थिक परिदृष्यमै सुधार भएको छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले मे १६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रमा सुधारको संकेत देखिएको हो ।

प्रतिवेदनले विश्व अर्थतन्त्र सन् २०२४ मा २.७ प्रतिशत र २०२५ मा २.८ प्रतिशतले बढ्ने अनुमान गरेको छ । जनवरीको प्रतिवेदनमा सन् २०२४ का लागि २.४ प्रतिशत र २०२५ का लागि २.७ प्रतिशत वैश्विक वृद्धिदरको प्रक्षेपण गरिएको थियो ।

हालै सार्वजनिक प्रतिवेदनले देखाएको वैश्विक वृद्धिदर मुख्य रूपमा अमेरिका र विशेषगरी ब्राजिल, भारत र रुसजस्ता उदीयमान अर्थतन्त्रमा आएको सुधारको प्रतिविम्ब भएको टिप्पणी अर्थविद्हरुले गरेका छन् ।

चीनको वृद्धि सामान्य हुनेछ । सन् २०२४ मा चीनको वृद्धिदर ४.८ प्रतिशत हुने अनुमान गरिएको छ । सन् २०२४ जनवरीको पूर्वानुमान ४.७ प्रतिशत थियो ।

प्रतिवेदनअनुसार अमेरिकी अर्थव्यवस्था निरन्तर उच्च ब्याजदरका बावजुद उल्लेखनीय रूपमा बलियो बन्दै गएको छ । अमेरिकाको आर्थिक वृद्धिदर सन् २०२४ मा २.३ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । जनवरीमा १.४ प्रतिशतमात्र वृद्धिदर हासिल हुने प्रक्षेपण भएको थियो ।

भारतको अर्थतन्त्र सन् २०२४ मा ६.९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो जनवरीको पूर्वानुमानभन्दा ०.७ प्रतिशत विन्दुले बढी हो । युक्रेन युद्धका बावजुद रुसको वृद्धिदर २.७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यो जनवरीको १.३ प्रतिशतको पूर्वानुमानभन्दा अत्यन्त धेरै हो ।

अर्को प्रमुख उदीयमान बजार ब्राजिलले २.१ प्रतिशतो आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । यो पनि जनवरीको पूर्वानुमानभन्दा बढी हो ।

विश्वका अन्य प्रमुख अर्थतन्त्रमध्ये जापानको आर्थिक वृद्धिदर १.२ प्रतिशतमा अपरिवर्तित रहने अनुमान गरिएको छ । त्यस्तै बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतको सट्टा ०.८ प्रतिशतले बढ्ने नयाँ प्रक्षेपण गरिएको छ ।

सन् २०२४ मा विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धिदर १.३ प्रतिशत हुने अनुमान जनवरीमा गरिएकोमा अहलेको प्रतिवेदनले १.६ प्रतिशत हुने अनुमान गरेको छ । त्यस्तै युरोपेली संघ (ईयू) को आर्थिक वृद्धिदर प्रक्षेपण भने १.२ प्रतिशतबाट घटेर १ प्रतिशतमा झरेको छ ।

अफ्रिका र पश्चिमी एसिया अन्य दुई क्षेत्रहरूमा अपेक्षाभन्दा सुस्त वृद्धिको अनुमान गरिएको छ । प्रतिवेदनमा अफ्रिकाको वृद्धि दर ३.५ प्रतिशतबाट घटेर ३.३ प्रतिशत हुने अनुमान छ । पश्चिम एसियामा पनि वृद्धिदर २.९ प्रतिशतबाट घटेर २.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

समग्रमा विकासशील अर्थतन्त्र सन् २०२४ मा ४ प्रतिशतको सट्टा ४.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । विकसित देशहरूका लागि भने ४.८ प्रतिशतको पूर्वानुमान गरिएको छ ।

सन् २०२४ मा वस्तु तथा सेवाको विश्वव्यापी व्यापार जनवरीमा अनुमान गरिएको २.४ प्रतिशतको तुलनामा ३.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

तर, लामो समयसम्मको उच्च ब्याजदर, ऋणको दिगोपन चुनौती, निरन्तरको भू-राजनीतिक तनाव र बढ्दो जलवायु जोखिमले विकासका लागि चुनौती खडा गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।