दाङ । देउखुरीमा एक सामुदायिक वनले अर्को सामुदायिक वन क्षेत्रमा सालका रुख ढालेको आरोप लागेको छ । राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा जँगलमा अर्कै बनक्षेत्रमा गएर रुख काटिएको आरोप लागेको हो ।
राजपुर-३ स्थित जनकल्याण सामुदायिक वन र वनशक्ति सामुदायिक वनको सीमा जोडिएको छ । वनशक्तिले कटान आदेश पाएर काम सुरु गर्यो भने जनकल्याणले कटान आदेश पाएन ।
डिभिजन वन कार्यालय देउखुरीबाट कटान आदेश पाएर काम सुरु गरेको वनशक्तिले जनकल्याणको वनमा गएर रुख ढालेको आरोप लागेको छ । ठूल्ठूला २ वटा सालका रुख ढालेर लाबारिसे अवस्थामा छोडिएको छ ।
ढलेका रुखमा टाँचासमेत लगाइएको छ । तर, ढालिएका रुख व्यवस्थापनमा कुनै समूहले चासो देखाएका छैनन् । टाँचा १ र २ नम्बरका रुख ढालिएको छ ।
जनकल्याणका अध्यक्ष लिलाराम यादबले पनि उक्त रुख काटिएको क्षेत्र आफ्नै वन क्षेत्र रहेको ठोकुवा गरे । उनले कार्ययोजनामै उक्त क्षेत्र जनकल्याणमा रहेको र वनशक्तिलाई आफ्नो कार्ययोजना देखाउन अनुरोध गर्दा अटेरी गरेको बताए ।
रुख काट्ने बेला आफू कार्यवाहक दिएर बिदामा रहेको र पछि आउँदा रुख ढालिएको पाएको उनले बताए । उनले यस विषयमा वन समूह तथा वन कार्यालयहरुसँग छलफल भइरहेको जानकारी उनले दिए ।
वन समूहले कटान आदेश लिँदा छिमेकी समूहबाट पनि सहमति लिनुपर्ने व्यवस्था छ । त्यो सहमतिमा जनकल्याणका अध्यक्ष लिलारामले आफैं हस्ताक्षर गरेका छन् ।
डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत राजु क्षेत्रीले जीपीएसका आधारमा उक्त क्षेत्र वनशक्तिकै रहेको बताए । रुखहरु ठूला भएको र मानिसहरुबाट लोड हुन नसक्ने अवस्था भएपछि जेसीबीमार्फत लोड गराउन फिल्डमै छोडिएको जानकारी उनले दिए ।
गेन्डा बनाएपछि चोरी हुन सक्ने भएकाले उठाउने बेलामा गेन्डा बनाउने उनको तर्क छ । सीमा विवाद देखिएकाले दुबै समूहको तत्काल बैठक बोलाई फायरलाइन प्रविधिमार्फत सीमा टुङ्ग्याउने र दुबै समूहको कार्ययोजना आपसमा भिडाएर निचोड निकालिने वन अधिकृत क्षेत्रीले बताए ।
आरोपित वनशक्ति वन समूहका अध्यक्ष भरत यादवले भने यस विषयमा अनभिज्ञता प्रकट गरे । ‘म वैशाख २० गते वनशक्तिको अध्यक्ष भएको हुँ,’ उनले भने, ‘रुख त्यसअघि नै ढालिएका हुन् ।’
डिभिजन वनको कार्यादेशअनुसार काम सुरु गर्दा वनशक्ति वन समूहको अध्यक्षमा कल्लु यादव थिए । उनकै पालामा रुखहरु ढालिएको थियो । सीमाभन्दा कम्तीमा ५० मिटरभित्रका रुखहरु काट्न नपाइने प्रावधान छ । तर, डिभिजन वनले ती रुख काट्न आदेश दिँदा समस्या थपिएको छ ।