• Menu

विदेशी विनिमय सञ्चिति १४ अर्ब ३६ करोड डलर, साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त

नेपाल प्रफिट

२०८१ वैशाख ३०, १५:११

विदेशी विनिमय सञ्चिति १४ अर्ब ३६ करोड डलर, साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त

काठमाडौं । विदेशी विनिमय सञ्चिति १४ अर्ब ३६ करोड डलर नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रलर रहेको विदेशी विनिमय सञ्चिति २०८० चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड डलर पुगेको छ ।

नेपाली रुपैयाँमा २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत छ । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत थियो ।