• Menu
s

सुनचाँदी व्यवसायीमाथि खड्काको शृंखलाबद्ध ठगी धन्धा

नेपाल प्रफिट

२०८२ चैत २०, शुक्रबार १२:४०

सुनचाँदी व्यवसायीमाथि खड्काको शृंखलाबद्ध ठगी धन्धा

काठमाडौं । सुर्खेत स्थायी घर भएकी टिका खड्का नाम गरेकी महिलाले सुनचाँदी व्यवसायीमाथि शृंखलाबद्ध ढंगले ठगी धन्धा चलाइरहेको पाइएको छ । भोटाहिटीको श्री भिन्तुना ज्वेलर्सबाट करिब ५३ लाखको सुनका गहना किनेर पटक-पटक पैसा नभएको चेक दिएर एक महिनादेखि झुलाइरहेकी खड्काले मध्य बानेश्वरको श्री अल स्टार ज्वेलरीलाई उसैगरी चंगुलमा पारेको पाइएको छ ।

खड्काले अल स्टारबाट असोज २७ गते ३३ लाख ७८ हजार रुपैयाँको सुनका गहना किनेर पैसा नतिरेकी हुन् । ‘व्यापार नभएको अवस्थामा हामी ग्राहक पर्खेर बस्नुपर्ने अवस्थामा छौं,’ सुन किन्न आउने ग्राहकलाई पहिल्यै पैसा छ कि छैन भनेर सोध्ने कुरा आउँदैन,’ अल स्टारका सञ्चालक दिलबहादुर रसाइलीले भने, ‘मैले चेकमा कारोबार गर्न मानेकै थिइन्, पैसा जम्मा गरेको भौचर ल्याएपछि बल्ल सामान दिएको हुँ तैपनि फसियो ।’

बिल बनिसकेपछि खड्काले चेक दिन खोजेकी थिइन् । तर, रसाइलीले नगद मागे । उनले चेकमात्र भएको बताएपछि रसाइलीले सामान दिएनन् । उनले तत्काल गएर बैंकमा पैसा जम्मा गरेको भौचर लिएर आइन् । ‘भौचर देखेपछि सुन दिएँ, तर सबै फेक कारोबार रहेछ,’ उनले भने ।

सुरुमा खड्काले रसाइलीलाई ३५ लाखको भौचर दिएकी थिइन् । पटक-पटकको फलोअपपछि खड्काले १७ लाख ३८ हजार तिरिन् र बाँकी १६ लाख ४० हजारको अर्को चेक दिइन् । तर, पैसा नदिने नियत देखेपछि रसाइलीले चेक बाउन्स प्रक्रिया अघि बढाए र प्रहरीमा उजुरी दिए ।

उजुरीपछि उनले अर्को ५ लाख बैंक ट्रान्सफर गरिन् । रसाइलीले अझै ११ लाख ४० हजार रुपैयाँ पाउन बाँकी छ । बैंकिङ कसुरको आरोपमा खड्काविरुद्ध बिहीबार नै पक्राउ पुर्जी जारी भइसकेको छ ।