
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा उनले तयारी पोसाक उद्योगको विस्तार तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि सरकारले आवश्यक सबै प्रकारको सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलका क्रममा संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गर्न माग गरेको थियो। सोही अनुरूप प्रधानमन्त्री शाहले काउन्सिल गठनको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन् । संघका पदाधिकारीले काउन्सिल गठन भएपछि स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्धन तथा आयात व्यवस्थापन प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले निजी क्षेत्रका बन्द तथा रुग्ण अवस्थामा रहेका तयारी पोसाक उद्योगहरू पुनः सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक पहल गर्न पनि निर्देशन दिएका छन् ।
त्यसैगरी, निःशुल्क व्यापार सम्झौता (एफटीए) विस्तार, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्ने तथा अमेरिकालगायतका बजारमा परीक्षण तथा प्रमाणीकरण (टेस्टिङ सर्टिफिकेसन) अभावका कारण देखिएका निर्यात अवरोध हटाउन आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ।
उनले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादनमा पनि सरकारले ध्यान दिने बताए ।
छलफलमा उद्योगीहरूले सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि ग्रिन गार्मेन्ट भिलेजका लागि बजेट विनियोजन नभएको गुनासो गरेका थिए । त्यसप्रति प्रधानमन्त्री शाहले उपयुक्त स्थानमा जग्गा पहिचान गर्न आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापन गरिने आश्वासन दिए ।
प्रधानमन्त्री शाहले २०४० सालतिर लागू गरिएको निर्यातका आधारमा आयात गर्ने व्यवस्थाबारे पुनः अध्ययन गरी आवश्यक नीति अघि बढाउन पनि उद्योगीहरूलाई सुझाव दिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal