• Menu

सार्वजनिक शौचालय हुँदाहुँदै विद्यालयतिर फर्केर पिसाब फेर्छन् सर्वसाधारण, विद्यार्थीमा मनोवैज्ञानिक असर

नेपाल प्रफिट

२०८१ वैशाख २७, १४:१०

सार्वजनिक शौचालय हुँदाहुँदै विद्यालयतिर फर्केर पिसाब फेर्छन् सर्वसाधारण, विद्यार्थीमा मनोवैज्ञानिक असर

पर्सा । वीरगन्जको घण्टाघरसँगै रहेको खुला हाट बजारमा आउने सर्वसाधारणले खुला शौच गर्ने बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा मनोवैज्ञानिक असर पारेको छ ।

हाट बजार क्षेत्रमा आउने सर्वसाधारण, व्यापारी तथा सवारीचालक विशेषगरी पुरुषले विद्यालयको अगाडिको भागतर्फ फर्केर खुला शौच गर्दा विद्यालयमा अध्ययनरत छात्रछात्रा र शिक्षकशिक्षिकामा पनि नकारात्मक असर पार्दै आइरहेको छ । खुला हाटबजारबाट विद्यालय पश्चिम दिशामा अवस्थित छ ।

हाटबजारको एक मिनेटकै दूरीमा सार्वजनिक शौचालय नभएको पनि होइन । तर, जनचेतनाको अभाव र मनलाग्दी ढंगले शौच गर्ने प्रवृत्तिकै कारणले कलिला उमेरका बालबालिकामा मनोवैज्ञानिक असर पार्ने गरेको हो ।

रेल्वे माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रभुप्रसाद रौनियारले हाट बजारमा आउने सर्वसाधारणले विद्यालयतर्फ फर्किएर शौच गर्दा बालबालिकामा नराम्रो असर पार्दै लगेको बताए ।

‘हाटबजारमा आउनेहरुले विद्यालयतर्फ फर्किएर शौच गरिरहेको दृश्य देख्दा लाजैमर्दो अवस्था हुन्छ,’ उनले भने, ‘विद्यालयको पर्खाल होचो भएकाले पनि शौच गरिरहेको दृश्य नचाहेर पनि देख्नुपर्ने बाध्यता छ । यो समस्याको विषयमा सम्बन्धित निकायमा मौखिक जानकारी गराउँदै आइरहेको छु ।’ विद्यालयमा साढे ६ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

प्रधानाध्यापक रौनियारले कलिला उमेरका बालबालिकालाई यस्ता खालका दृश्यले मनोवैज्ञानिक असर पार्न सक्ने बताए । यो विद्यालय वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा पर्छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले बजारमा आउनेले खुला शौच गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा असर पार्दै आइरहेको बताए । ‘खुला तरकारी बजारमा आउनेले खुला शौच गर्ने विषयमा बारम्बार नगर कार्यपालिकाको बैठकमा आवाज उठाउँदै आइरहेको छु, यसलाई व्यवस्थित गर्न जरुरी भइसकेको छ,’ उनले भने ।

सो समस्या समाधानका लागि विद्यालय प्रांगणमा अग्लो खालको पर्खाल लगाउनुपर्ने  देखिन्छ । ‘त्यसो गर्न नसकिने हो भने बजारमा खुला शौच गर्न रोक लगाउन जरुरी भइसकेको छ,’ उनले भने ।

वडाध्यक्ष गुप्ताले जभाभावी रुपमा विद्यालयतर्फ फर्किएर शौच गर्दा छात्रा र शिक्षिकालाई अझै धेरै अप्ठ्यारो परिरहेको बताए । ‘वडासँग पर्याप्त बजेट नभएकाले पनि सो समस्या समाधान गर्न सकेका छैनौँ,’ उनले भने, ‘अब यो समस्याको विषयमा गम्भीर भएर समाधान गर्नेतर्फ अग्रसर हुनेछौँ ।’

वडाध्यक्ष गुप्ताले आफू जनप्रतिनिधि भएर आएसँगै प्रत्येक वर्ष विद्यालयको लागि बजेट विनियोजन गर्दै आइरहेको पनि दाबी गरे । ‘पहिलो वर्ष विद्यालयको छानो र सिँढी संरचना बनाउन तीन लाख बजेट उपलब्ध गराएका थियौं,’ उनले भने, ‘यो वर्ष पनि विद्यालय प्रांगणमा नाली निर्माण गर्न पाँच लाख बजेट विनियोजन भएको छ । सो बजेटले अहिले निर्माणसम्बन्धी काम हुँदै छ ।’

बजार क्षेत्रसँगै जोडिएर सार्वजनिक शौचालय पनि छ । सो सार्वजनिक शौचालयमा शौच गर्ने मूल्य धेरै भएको प्रयोगकर्ताको गुनासो छ । सो सार्वजनिक शौचालयमा पिसाब फेरेको १०, दिसा गरेको १५ र नुहाउनेका लागि ४० रुपैयाँ तोकिएको छ ।

वडाध्यक्ष गुप्ताले सार्वजनिक शौचालयको मूल्य बढी र सर्वसाधारणमा जनचेतनाको अभावकै कारणले खुला शौच गर्दै आइरहेको बताए । ‘हामीले खुला दिसामुक्त क्षेत्र भनेका छौँ तर जथाभावी दिसापिसाबले सहरलाई नै दुर्गन्धित बनाइरहेको छ,’ उनले भने ।

महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले जथाभावी रुपमा शौच गर्नेलाई नियन्त्रण गर्न कर्मचारी खटाएर सुधार्न खोजिरहे पनि पूर्णरुपमा नियन्त्रण गर्न नसकिएको बताए ।

‘हामीसँग कर्मचारी अभावको कारणले २४सै घण्टा कर्मचारी खटाउन सक्ने अवस्थामा छैनौँ, महानगरले बेलाबेलामा बजार व्यवस्थापन गर्ने टोलीसँग पनि खुला शौच नियन्त्रण गर्न निर्देशन दिँदै आइरहेका छौँ,’ उनले भने ।

शाखा प्रमुख मियाँले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको हाटबजारलाई हटाएर पार्क बनाउने योजना रहेको पनि बताए । ‘अहिले अव्यवस्थित रुपमा राखेको हाट बजार हटाउने क्रममा छौँ । एक महिनाभित्रै हटाउनेछौं,’ उनले भने ‘यसअघि एकपटक मेयरसा’बले पनि हटाउने पहल गर्नुभएको थियो तर विभिन्न अवरोधले अघि बढ्न सकेन ।’