• Menu

सन्दर्भ : विश्व अकुपंचर दिवस

अकुपंचर चिकित्सा आजको आवश्यकता हो, स्वास्थ्यका सबै विधासँग यो सँगै जान सक्छ

नेपाल प्रफिट

२०८२ मंसिर ६, शनिबार ०७:२२

अकुपंचर चिकित्सा आजको आवश्यकता हो, स्वास्थ्यका सबै विधासँग यो सँगै जान सक्छ

नेपालकै उत्कृष्ट प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यसहित २०७२ माघमा स्थापना भएको सुस्वास्थ अस्पतालका अध्यक्ष हुन्, दोलखाका अकुपंचरिस्ट सुदर्शन बस्नेत । २६ वर्षदेखि अकुपंचरको क्षेत्रमा कार्यरत उनी नेपाल अकुपंचर मोक्सिब्युसन तथा अकुप्रेसर संघका संस्थापक अध्यक्ष पनि हुन् । विश्व अकुपंचर दिवस समारोह समिति २०२५ का संयोजक बस्नेतसँग अकुपंचर उपचार पद्धति, नेपालमा यसको विकास र विस्तार, अकुपंचरको प्रभावकारिता एवं विश्व अकुपंचर दिवसमा केन्द्रित भएर नेपाल प्रफिटका लागि डीआर आचार्यले गरेको कुराकानी :

०००

अकुपंचर कस्तो खालको उपचार पद्धति हो ? यसको विकास कहाँ र कसरी भयो ?

अकुपंचर दुईवटा ल्याटिन शब्द मिलेर बनेको छ- अकस (Acus) र पन्चरा (Punctura) । अकसको अर्थ ‘तिखो’ र पन्चराको अर्थ ‘छेदन’ भन्ने हुन्छ । यसको शाब्दिक अर्थ ‘तिखो छेदन’ भन्ने हो ।

मूलतः अकुपंचर पाँच हजार वर्ष अघिदेखि चीनमा अभ्यास हुँदै आएको परम्परागत उपचार पद्धतिको एउटा भाग हो । शरीरका विशेष विन्दु, जसलाई अकुप्वाइन्ट्स भनिन्छ, ती विशेष विन्दुहरुमा विशेष प्रकारका सियो (Filliform needle) ले घोचेर उपचार गरिने पद्धति नै अकुपंचर हो । यो औषधिविहीन उपचार पद्धति हो ।

कस्ता–कस्ता रोगहरुमा यो उपचार पद्धतिको प्रयोग भइरहेको छ ?

संसारभरका मानिसलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने संयुक्त राष्ट्र संघको विशेष एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नै अकुपंचर उपचार पद्धति धेरै रोगमा प्रयोग हुन्छ भनेर परिभाषित गरेको छ । अकुपंचर उपचार पद्धति प्रयोग गर्न सकिने रोगको सूचीमा २५० भन्दा बढी रोग छन् ।

विशेषगरी क्यान्सर, संक्रमण, भाँचिएको अवस्थाबाहेक अधिकांश रोगमा अकुपंचर प्रयोग भएको पाइन्छ । पेट, आँखा, हाडजोर्नी, ब्लडप्रेसर, मुटुलगायत सबै खालका समस्यामा यो पद्धतिको सफल प्रयोग भएको छ । तथापि, हाडजोर्नी एवं नसाका रोगहरु र सबै प्रकारका दुखाइको उपचारमा यो पद्धति थप प्रभावकारी देखिएको छ ।

नेपालमा चाहिँ कस्ता-कस्ता रोगहरुमा प्रयोग भइरहेको छ ?

नेपालमा पनि हाडजोर्नी र नसासम्बन्धी रोगहरुमा नै बढी प्रयोग भइरहेको छ । कतिपय क्लिनिकहरु पेटका समस्या (Chronic gastritis), माइग्रेन, पिनासलगायतको उपचारमा पनि सफल भएका छन् । यसको सफलता दर ८० प्रतिशतभन्दा माथि छ । बिनाऔषधि गरिने उपचार (Drugless therapy)मा कतिपय दुखाइसँग सम्बन्धित रोगमा त अकुपंचरलाई सबैभन्दा राम्रो उपचार पद्धतिको रुपमा लिइएको छ ।

अकुपंचरको साइड इफेक्ट हुन्छ कि हुँदैन ?

कुनै पनि चिजको इफेक्टपछि साइड इफेक्ट त हुन्छ नै । यद्यपि, अकुपंचर अत्यन्तै कम साइड इफेक्ट हुने उपचार पद्धति हो । रसायनहरुको प्रयोग नहुने भएकाले त्यसको साइड इफेक्ट शून्य नै हुने भयो । सियोले घोचेका कारण तन्तुहरुमा थोरै क्षति पुग्छ । नत्र अरु साइड इफेक्ट हुँदैन । गलत तरिकाले सियोको प्रयोग भयो भने साइड इफेक्ट हुन सक्छ । त्यसमा सचेत हुनुपर्छ ।

अकुपंचर उपचार पद्धतिले काम कसरी गर्छ ?

परम्परागत चिनियाँ उपचार पद्धतिको अवधारणाअनुसार अकुपंचरले शरीरलाई सन्तुलित राख्ने काम गर्छ । विश्व ब्रह्माण्ड जस्तै हाम्रो शरीर पनि नकारात्मक र सकारात्मक दुईवटा ऊर्जा (इनर्जी)मा विभाजित छ । यसलाई चिनियाँ पद्धतिले इङ (Ying) र याङ (Yang) भन्छ । कुनै पनि कारणले ती दुई ऊर्जामा असन्तुलन आयो भने त्यसले रोग निम्त्याउँछ । त्यसलाई पुनः सन्तुलित गरियो भने रोग निको हुन्छ भन्ने अवधारणाबाट अकुपंचर पद्धतिको विकसित भएको हो ।

हाम्रो शरीरमा एक किसिमको जीवनी शक्ति या प्राण (Vital energy) हुन्छ । त्यसलाई चिनियाँ मेडिसिनले ची (Chi) भन्छ । यो ची शरीरभरि बगेको हुन्छ । ची बग्ने माध्यमलाई मेरिडियन (Meridians) र कोल्याट्रल (Colleterals) भनिन्छ । १४ वटा मेरिडियन र १५ वटा कोल्याट्रलमार्फत ची बग्छ ।

कुनै पनि बाह्य या भित्री कारणले ची बग्ने कार्यमा अवरोध आयो भने शरीरको सन्तुलन बिग्रिन्छ र रोग लाग्छ । अकुपन्चरिस्टले कुन मेरिडियन या कोल्याट्रलमा अवरोध आएको छ भन्ने पत्ता लगाउँछ र निडिलको सहयोगमा त्यसलाई खोलिदिन्छ । यो परम्परागत चिनियाँ उपचार पद्धतिको अवधारणालाई डब्लूएचओले पनि पुष्टि गरेको छ ।

अकुपंचर पद्धतिबाट रोग निको हुने ६ वटा वैज्ञानिक अवधारणा छन् ।

१. दुखाइ कम गर्ने असर (Analgesic effect): शरीरका निश्चित विन्दुहरुमा सियोले घोचेपछि प्राकृतिक रुपमै शरीरमै भएका दुखाइ कम गर्ने रसहरु रिलिज हुन्छन्, जसले दुखाइ कम गर्न सहयोग गर्छ ।

२. लठ्याउने असर (Sedative effect): अकुपंचर गरिसकेपछि त्यसले मस्तिष्कको तरंगलाई सन्तुलित गरिदिन्छ । त्यसले गर्दा मनोवैज्ञानिक समस्याहरुमा यो पद्धति बढी प्रभावकारी हुन्छ ।

३. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि (Immuno enhancing effect): अकुपंचर पद्धतिले प्राकृतिक रुपमै रोग प्रतिरोधात्मक क्षमता प्रणालीलाई सक्रिय बनाइदिन्छ ।

४. आन्तरिक सन्तुलन (Homeostatic balance): अकुपंचर पद्धतिले अटोनोमिक नर्भस सिस्टमलाई सन्तुलित गर्छ, जसले गर्दा पल्स, मुटुको धड्कन तथा हर्मोनहरुलाई सन्तुलित गर्छ ।

५. चालमा वृद्धि (Motor recovery): अकुपंचर गर्दा मस्तिष्क तथा नसाका कोषिकाहरु रिजेनेरेट भएको पाइन्छ, जसका कारण सबै प्रकारका प्यारालाइसिसहरुको उपचारमा सहयोग पुग्छ ।

६. मनोवैज्ञानिक असर (Phychological effect): अकुपंचरका कारण मस्तिष्कले निकाल्ने डोपामिन जस्ता रसायन रिलिज गर्न सहयोग पुग्छ, जसले गर्दा पार्किन्सन्स जस्ता रोगहरु निको हुन्छ ।

नेपालमा यो अभ्यास कहिलेदेखि सुरु भयो ?

नेपालमा आधिकारिक रुपमा कहिलेबाट सुरु भयो भन्ने यकिन जानकारी छैन । कोदारी राजमार्ग निर्माणसँगै नेपालमा अकुपंचर भित्रियो भनिन्छ । कोदारी राजमार्ग २०२० देखि २०२४ सालमा बनेको हो । २०२८ सालमा अकुपंचर गरेको बिरामी भेटिएको तथ्यचाहिँ हामीसँग छ ।

तर, इतिहास नै खोज्दाचाहिँ कोदारी राजमार्ग निर्माणका क्रममा चिनियाँ प्राविधिकसँगै उनीहरुको उपचारका लागि अकुपंचरिस्ट पनि नेपाल पठाइन्थ्यो भन्ने छ । विगतमा ट्रलिबसको कार्यालय भएको ठाउँमा अकुपंचर सेवा दिइन्थ्यो अरे !

औपचारिक रुपमा भने २०३१ सालबाट सुरु भएको हो । डा. राममान तृषित (स्व.)ले चीनबाट अकुपंचर तालिम लिएर आउनुभएको र वीर अस्पतालमा सेवा सुरु गर्नुभएको हो । त्यसबेला वीर अस्पताल विकास समितिले अकुपंचर युनिट नै सुरु गरेको थियो ।

त्यसपछि २०३४ सालपछि डा. भरत प्रधान, डा. मुकुन्द केसीहरुले पढेर आउनुभयो । त्यस्तै आयुर्वेद डाक्टर हरिशचन्द्र शाहले २०४२ सालमा अकुपंचर पढेर आउनुभयो र नरदेवी आयुर्वेदिक चिकित्सालयमा अकुपंचर सेवा सुरु गर्नुभयो । अकुपंचरमात्रै पढ्ने पहिलो डाक्टर भने आनन्द केसी हुनुहुन्छ । त्यसपछि अकुपंचर पढ्ने क्रम बढ्यो र नर्सिङ होमहरुमा पनि अकुपंचर सेवा सुरु भयो ।

त्यही समयमा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले जापानको एक संस्थासँगको सहकार्यमा २०४९ सालमा अकुपंचरको तीन बर्से डिप्लोमा तहको पढाइ सुरु गर्‍यो । २०५४ सालपछि त्यसलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले (सिटिइभिटी)ले पाठ्यक्रम परिमार्जन गरी अध्यापन सुरु गरेको छ । निजी क्षेत्रले भने २०५५-५६ साल तिरबाट क्लिनिक खोल्न र व्यावसायिक रुपमा अकुपंचर सेवा दिन थालिएको पाइन्छ ।

नेपालमा हाल कति अकुपंचरिस्ट छन् ?

नेपलमा २०८१ सालसम्मको तथ्यांकअनुसार १८५ जना अकुपंचरिस्ट छन् । सिधै अकुपंचर पढेकाहरुलाई नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (एनएपिसी)ले दर्ता गर्छ, जहाँ १६५ जना दर्ता भएका छन् भने आयुर्वेद पछाडि अकुपंचर पढेकाहरुलाई नेपाल आयुर्वेद मेडिकल काउन्सिल (एनएएमसी)ले दर्ता गर्छ, जहाँ २० जना दर्ता भएका छन् ।

विश्व अकुपंचर दिवस नेपालमा पनि मनाउन थालिएको छ, कति प्रभावकारी छ यो दिवस ?

नेपालमा चौथो पटक विश्व अकुपंचर दिवस मनाइँदैछ । चीनमा नोभेम्बर १६ देखि २२ सम्म एक हप्ता मनाइन्छ । नेपालमा भने नोभेम्बर २२ का दिन मनाउन थालिएको छ । युरोपेली देशहरुले अक्टुबरमा मनाउँछन् ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले २०७९ देखि यो दिवस मान्न सुरु गरेको हो । यसअघि तीनपटक आयुर्वेद विभागले मात्र कार्यक्रम गरेको थियो । यसपटक यसलाई व्यापक बनाउने हेतुले निजी क्षेत्रबाट कार्यक्रम आयोजना गरिएको छ ।

अकुपंचरिस्टहरुका दुईवटा संगठन चाइनिज मेडिसिन डाक्टर्स सोसाइटी र नेपाल अकुपंचर मोक्सिब्युसन तथा अकुप्रेसर संघ दुवैले संयुक्त रुपमा कार्यक्रम गर्दैछन् । कार्यक्रमको उद्देश्य अकुपंचरप्रतिको अवधारणालाई बृहत् बनाउनु नै हो ।

प्रतिक्रिया दिनुहोस्