धादिङ । मुस्लिम समुदायको महान पर्व रमजान चलिरहेको छ । तामझामसँग मुस्लिम धर्मावलम्बीले यो पर्व मनाइरहेका छन् ।
उनीहरु रमजानका बेला दिनभरि रोजा बस्ने गर्छन् । रोजाका कारण कुनै पनि काम गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका व्यक्ति थप दबाबमा पर्छन् । उनीहरुलाई रमजान मनाउनसमेत असहज हुन्छ ।
कमजोर आर्थिक अवस्थाका कारण गोरखाको गण्डकी र धादिङको बेनिघाट रोराङ गाउँपालिका मुस्लिम समुदायलाई राहत सामग्री वितरण गरिएको छ । त्यहाँका ८० परिवारलाई रमजान खाद्यान्न प्याकेज सहयोग गरिएपछि पर्व मनाउन सहज भएको छ ।
हेल्पिङ हार्ट नेपालको आर्थिक सहयोगमा उनीहरुलाई रमदान खाद्यान्न प्याकेज वितरण गरिएको आयोजक संस्थाका जिया खानले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएका, दैनिक ज्याला मजदुरी गरी खाने परिवार, एकल महिला, अपांगता भएका महिला तथा बालबालिका र जोखिममा परेका बालबालिकालाई छनोट गरेर खाद्यान्न सामग्री वितरण गरिएको हो ।
खाद्यान्नअन्तर्गत प्रतिपरिवार २५ किलो चामल, दाल, तेल, नुन, चिनी, आटा, चिउरा गरी ३ लाख ५० हजार रुपैयाँबराबरको समाग्री हस्तान्तरण गरिएको उनले बताए । रमजान आइतबारबाट सुरु भएको हो ।