• Menu

बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

नेपाल प्रफिट

२०८० चैत २१, बुधबार १०:१२

बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

पर्वत । बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतंकलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ ।

नगरपालिकाले बढी बाँझो जमिन रहेका वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको हो । वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरिएको छ ।

नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्यअनुरुप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छ भने उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ ।

पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाकको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताए । उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले ७५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा सशर्त अनुदान प्रदान गर्दै आएको छ ।