कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने सोचलाई कैलालीको जानकी गाउँपालिका ५ का उद्यमी एन्जिल चौधरीले गलत सावित गरिदिएका छन् । व्यावसायिक च्याउखेतीमा लागेका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएका छन् ।
२०७६ सालमा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको हो । उनले व्यवसाय बढाउँदै लगेका छन् ।
‘मैले सिजनअनुसार ६ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन,’ उनले भने, ‘उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन, घरबाटै सबै बिक्री हुन्छ ।’
चौधरी हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्छन् । गर्मीमा ब्लुक्याप र पिङ्की अनि बर्खामा दुधे च्याउ लगाउँछन् । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाखसम्म कमाइरहेका छन् ।
‘लगानीको तुलनामा आम्दानी अधिक छ, त्यसैले व्यवसाय विस्तार गरेको छु,’ उनी भन्छन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।’ उgले च्याउ खेतीमात्रै नभएर बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएका छन् ।
अहिले उहाँको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । ‘च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु,’ उनले भने, ‘तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक चारदेखि पाँच लाख आम्दानी हुन्छ ।’
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएका उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।
जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् । उनले च्याउखेतीमा करिब ५० लाख लगानी गरिसकेका छन् । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन् ।
‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो, करिब ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो,’ उनले भने, ‘अबको आम्दानी बचतमा जान्छ ।’
च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन् । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन् । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन् ।
जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरे । पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएका थिए । साथीहरूबाट सिकेको ज्ञानसँगै स्नातक तहको अध्ययन सके भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागे ।
परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । ‘अब स्नातकोत्तर गर्छु, व्यवसायलाई पनि निरन्तरता दिनेछु,’ उनले भने ।
बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनन् । यो वर्ष एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट ६ लाख आम्दानी भएको छ ।
‘च्याउखेतीमा खासै लगानी छैन, त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ, लगानीभन्दा आम्दानी तेब्बर छ,’ उनी भन्छन् । उनको पाँच जना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् ।