• Menu

किचकवध उत्खनन, २२ सय वर्ष पुरानो भवनको संरचना भेटिएको पुष्टि

नेपाल प्रफिट

२०८० चैत १८, ०९:१९

किचकवध उत्खनन, २२ सय वर्ष पुरानो भवनको संरचना भेटिएको पुष्टि

झापा । भद्रपुर नगरपालिका-३ पृथ्वीनगरस्थित महाभारतकालीन किचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो ।

परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तर-पूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तर-पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम-दक्षिणमा अर्को बहुतले भवन फेला परेको जानकारी दिए ।

उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेको बताए ।

‘यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुन्छ,’ पुरातत्वविद् आचार्यले भने, ‘सायद अर्को सालसम्ममा उत्खनन पूरा हुन्छ । अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने संकेत पाइएको छ ।’

उनले हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, किचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, किचकवध स्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्ने बताए ।

पुरातत्व विभागले किचकवधमा २०५८ सालमा पहिलोपटक उत्खन गरेको थियो । यो पुरातत्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यसपटकको उत्खनन सातौँ हो ।

यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन भएको थियो । विराट राजाका सेनापति एवं सालो किचकले सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएको धार्मिक ग्रन्थ महाभारतमा उल्लेख छ ।