• Menu

प्रहरीको जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी, पराजित भएपछि दुग्ध व्यवसाय

रासस

२०८० चैत ११, १३:४७

प्रहरीको जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी, पराजित भएपछि दुग्ध व्यवसाय

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ । यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ का एक युवाले चरितार्थ गरिदिएका छन् ।

नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी युवा राहदानी बोकेर बिदेसिने गर्छन् । मासिक ४०-५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन यहाँ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झन्डै ८० प्रतिशत जतिले रोजगारीका लागि खाडीमा जाने योजना सुनाउँछन् ।

उनीहरु भन्छन्, ‘स्वदेशमा न त कुनै जागिर नै छ न नै । अनि विदेश नहानिएर के गर्नु ? यहाँ बसेर कामै छैन ।’

तर, नेचासल्यान गाउँपालिका-२ का वियश राईले भने प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै सुरु गरेको दुग्ध व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

उनले सुरु गरेको उद्यमबाट आफू मात्रै स्वरोजगार भएका छैनन्, गाउँका अन्य थुप्रै युवालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । बिहानदेखि बेलुकासम्म निरन्तर आफनो व्यवसायमा व्यस्त रहने बेफुर्सदिला व्यक्ति छन् राई ।

बिहान सबेरै उठेर दूध संकलनका भाँडाकुँडा हातमा बोकेर कहिले आफ्नै गाउँटोल त कहिले छिमेकी गाउँका किसानको घरदैलोमा पुग्छन् उनी । राईले डेरी व्यवसाय तथा दुग्धजन्य परिकारहरुको बिक्रीबाट कमाएर नै परिवार पाल्ने, छोराछोरीलाई पढाउने साथै स्थानीय व्यक्तिलाई रोजगारी दिँदै आएका छन् ।

२०७९ को स्थानीय निर्वाचनमा प्रहरी नायब निरीक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको पदमा नेचासल्यान गाउँपालिका-२ बाट उम्मेदवारी दर्ता गराएका उनी निर्वाचनमा पराजित भएपछि आफ्नै गाउँमा केही व्यवसाय सञ्चालन गर्ने र अन्य युवालाई समेत प्रेरणा दिने सोच आफूमा पैदा भएको उनी सुनाउँछन् ।

‘गाउँघरमा रोजगारीको बाटो छैन भन्ने र मासिक ४०-५० हजार कमाइ गर्नकै लागि खाडी जाने युवाको जमात असाध्यै धेरै देखेँ, म आफू त प्रहरीको छोडेर गाउँ होमिएको व्यक्ति हुँ तर गाउँका युवाको विदेश पलायनले मन छोयो र गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि मैले यो उद्यम सुरु गरेँ,’ उनले भने ।

उनले २०७९ मंसिरबाट कोठा भाडामा लिएर दूध संकलन गरी दूध र दही बिक्री गर्न थाले । व्यवसायलाई क्रमिक रुपमा विस्तार गर्ने उद्देश्यका अघि बढेका राईले ज्ञान तथा सीपको आवश्यकता महसुस गरी आफ्नै लगानीमा इलाममा गएर दुग्ध तालिम लिए ।

उनको लगनशीलता र मेहनत देखेर व्यवसाय विस्तारका लागि गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गरे पनि पर्याप्त भने थिएन । यसै क्रममा उनले गाउँपालिकामार्फत जीआइजेड नेपालअन्तर्गत रिप ग्रिन कार्यक्रमले डेरी तालिम सञ्चालन गर्न लागेको कुरा थाहा पाए ।

उनी गाउँपालिकाको सिफारिसमा तालिमका लागि छनोट पनि भए । उनी २०८० वैशाख ५ देखि १० सम्म सो कार्यक्रमले इलाममा सञ्चालन गरेको डेरी उत्पादन सीप विकाससम्बन्धी तालिममा सहभागी भए । तालिममा देशभरबाट जम्मा भएका नवउद्यमी, सिकेका ज्ञान, सीपले उनलाई थप व्यावसायिक बन्ने ऊर्जा मिल्यो ।

तालिमपश्चात परिश्रम नै सबैभन्दा ठूलो हो र यसले नै मानिसलाई स्वावलम्बी बनाउँछ भन्ने पूर्ण विश्वासको साथ थप सशक्त भई उनले यसलाई नै मुख्य पेसाको रूपमा अँगाल्न सुरु गरे ।

उनले व्यवसायसमेत दर्ता गरी दूधबाट बन्ने दही, पनिर, घिउ, खुवा र आइसक्रिमजस्ता परिकार नेचासल्यान गाउँपालिका साथै सदरमुकाम सल्लेरी बजारमा समेत बिक्री गर्न थाले ।

तालिमपश्चात् उनमा आत्मविश्वास पनि बढ्यो, दूधका परिकार उत्पादन गरी व्यवसायलाई विस्तार पनि गरे । व्यवसाय सञ्चालनका लागि अहिले ६ जनालाई रोजगारी पनि दिइरहेका छन् ।

उनको व्यवसायलाई चाहिने दूध बिक्रीबाट गाउँका करिब ६० घर कृषक अप्रत्यक्ष लाभान्वित बनेका छन् । व्यवसायबाट मासिक चार लाख रुपैयाँभन्दा बढी कारोबार भइरहेको अनुमान उनको छ ।

यही आम्दानीबाट छोराछोरीको पढाइ, औषधोपचार खर्च गरेर बचेको पैसाले भाडामा लिएको जग्गामा घर निर्माण गरी भैँसीपालन व्यवसाय विस्तार गरेका छन् ।

व्यवसायलाई अझ दिगो र विस्तारित रुपमा सञ्चालन गर्न आफ्नै लगानीमा कृषि तथा भैँसीफार्म सुरु गरेको उनको भनाइ छ । चार माउ भैँसीबाट सुरु गरिएको फार्ममा २० माउभैँसी बनाउने योजनाका साथ उनी अघि बढेका छन् । गाउँघर र छिमेकीहरुलाई समेत पशुपालन र दूध उत्पादनमा उनले प्रोत्साहन गर्दै आएका छन् ।

सदरमुकाम सल्लेरीमा मात्रै दैनिक सात सय लिटरभन्दा बढी दूध खपत हुन्छ भने नेचासल्यानमा दैनिक एक सय लिटरसम्म दूध खपत हुने गरेको उद्यमी राईले बताए । जिल्लामा व्यावसायिक पशुपालन र दूध उत्पादन फस्टाउन नसक्दा डेरी व्यवसाय सञ्चालनमा चुनौती थपिएको उनले बताए ।

‘जिल्लाका किसानले परम्परागत ढंगबाट बस्तुभाउ पाल्दै आएका छन्, व्यावसायिक दूध उत्पादनको अवधारणा अझै विकास हुन सकेका छैन, युवाजति सबै खाडीमा छन्, यहाँ गाईभैँसी पाल्ने जनशक्ति पर्याप्त छैन,’ राईले भने ।

जिल्ला सदरमुकामदेखि गाउँघरसम्ममा दूधमात्र नभई दुग्धजन्य परिकारको माग र खपत उच्च छ । दूध, दही, मही, पनिर, खुवा र दूधबाट बन्ने मिठाइको धेरै माग छ । उत्पादित वस्तुको सहज बिक्री-वितरणका लागि काठमाडौँका बजार तथा अन्तर्राष्ट्रिय बजारसँग समेत समन्वय गरिरहेको राई बताउँछन् ।

व्यवसायप्रतिको जिम्मेवारी तथा दिगो व्यवसायका लागि व्यक्तिमा ज्ञान तथा सीपको आवश्यकता हुन्छ भन्ने राम्ररी बुझेका राई यस्ता तालिम खर्च गरेर भए पनि लिन छुटाउँदैनन् ।

रिप ग्रिन कार्यक्रमद्वारा सञ्चालित तालिमपछि उनले विभिन्न वस्तु उत्पादन गरी थप आम्दानी बढाउन सफल भएका हुन् । सीप र काम गर्ने जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ, घर व्यवहार सम्हालन सक्ने र आफ्नो आवश्यकता टार्न कसैसँग हात फिँजाएर माग्न नपर्ने उनको आत्मविश्वास छ ।

(सुवास दर्नाल)