• Menu

अभर परेको भनेर मोबाइल माग्ने र भाग्ने गिरोहका ४ जना पक्राउ

नेपाल प्रफिट

२०८० चैत १, १९:४२

अभर परेको भनेर मोबाइल माग्ने र भाग्ने गिरोहका ४ जना पक्राउ
तस्बिर एआई

रुपन्देही । माघ २९ गते मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई पल्सर मोटरसाइकलमा आएका दुई युवाले अतिआवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरे । उनले ती युवालाई आफ्नो मोबाइल दिए । मोबाइल पाउनेबित्तिकै ती युवा मोटरसाइकल कुदाएर भागे ।

जिल्ल परेका भरले तत्काल नजिकैको प्रहरीलाई मोटरसाइकलको विवरण र ती युवाको हुलियासहित आफूलाई परेको समस्याको बारेमा जानकारी गराए ।

प्रहरीका लागि भने यो घटना पहिलो थिएन । माघ ४ गते रोहिणी गाउँपालिकाका दीपेन्द्र चौधरी, माघ १६ गते ओमसतिया गाउँपालिकाका सन्दिपकुमार पासी र माघ १७ गते भैरहवाकै सावित्रा कान्दुको मोबाइल पनि मोटरसाइकलमा आएका युवाले खोसेर भागेको उजुरी प्रहरीमा आएको थियो ।

विभिन्न बहानामा मोबाइल चोरी गरेर भाग्ने युवाको खोजीमा प्रहरी पहिलेदेखि नै थियो । ‘त्यसका लागि विशेष टोली गठन गरी प्रहरी अनुसन्धानमा थियो । सीसीटिभी लगायतबाट अनुसन्धान गरिरहेका थियौं,” रुपन्देही प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले भने, ‘बुधबार यस घटनाबारे थप खबरसँगै मोटरसाइकल विवरण पायौँ ।’

प्रहरीले मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । भट्टका अनुसार सिद्धार्थनगर नगरपालिका–७ का २५ वर्षीय मनिष हरिजन, वडा नं ३ का २४ वर्षीय देवान गुरुङ, वडा नं १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान पक्राउ परेका छन् ।

यही समूहले रुपन्देहीका विभिन्न भागमा केही समयदेखि मोबाइल चोरी गरेको प्रहरीको आरोप छ । ‘एक्लै देखेका व्यक्तिको नजिक गएर एक्कासि मोबाइल खोसेर भाग्ने गरेका थिए वा अति आवश्यक परेको बताउँदै मोबाइल लिएर फरार हुने गरेका थिए,’ भट्टले भने, ‘प्रारम्भिक अनुसन्धानमा उनीहरुले लागु औषध खरिद गर्ने र सेवन प्रयोजनका लागि चोरी गरेको देखिएको छ ।’

पक्राउ परेकाहरु यसअघि पनि लागु औषध र चोरीलगायत मुद्दामा सजाय पाएका युवा रहेको भट्टले जानकारी दिए । उनका अनुसार आरोपितबाट प्रहरीले विभिन्न कम्पनीका आठ थान मोबाइल र लु ५६ प ७१७ नं को मोटरसाइकलसमेत बरामद गरेको छ ।

सबैलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद थप गरेको प्रहरी नायब उपरीक्षक भट्टले बताए । ‘गिरोहका अन्य सदस्य पनि छन् कि भन्ने विषयमा सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

मुलुकी अपराधसंहिता २०७४ अनुसार कसुरको अवस्था हेरी चोरी प्रमाणित भए दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।