एजेन्सी । पाकिस्तानको १४औं राष्ट्रपतिमा आसिफ अलि जरदारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा जरदारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।
महमुद खान अचकजईलाई पराजित गर्दै जरदारी राष्ट्रपति बनेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । जरदारीलाई सत्तारूढ दलहरू पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)को समर्थन रहेको थियो ।
त्यस्तै अचकजईलाई पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक- इ- इन्साफ (पीटीआई)का सांसदसहित सुन्नी इतिहाद काउन्सिल (सीआईसी)को समर्थन रहेको थियो । पीटीआईका उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए ।
जरदारी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म पाकिस्तानको ११औं राष्ट्रपति बनेका थिए । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान हुन् ।