• Menu

ट्रम्पको नयाँ कर घोषणाले विश्व सेयर बजारमा भारी गिरावट, जवाफी कदम चाल्ने चीन र युरोपेली संघको तयारी

नेपाल प्रफिट

२०८१ चैत २२, शुक्रबार १४:५१

ट्रम्पको नयाँ कर घोषणाले विश्व सेयर बजारमा भारी गिरावट, जवाफी कदम चाल्ने चीन र युरोपेली संघको तयारी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार कर नीतिले विश्व सेयर बजारमा भारी गिरावट आएको छ । ट्रम्पको नयाँ भन्सार कर घोषणासँगै विश्व सेयर बजारमा सन् २०२० यताकै ठूलो गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार ट्रम्पको नयाँ भन्सार करका कारण वस्तुहरूको मूल्यवृद्धि हुने संकेत देखिएको छ । भन्सार कर नीतिको प्रभाव अमेरिकासहित अन्य देशको आर्थिक वृद्धिमा पर्ने अनुमान गरिएको छ । फलत: विश्व सेयर बजार ओरालो लागेको हो ।

ट्रम्पको नीतिले अमेरिकी एस एन्ड पी ५०० (बजार सूचकांक) सन् २०२० पछि सबैभन्दा खराब अवस्थामा पुगेको छ । नाइकी, एप्पल र टार्गेट जस्ता ठूला कम्पनीहरूको सेयर मूल्यमा ९ प्रतिशतभन्दा ठूलो गिरावट आएको छ ।

एस एन्ड पी ५०० एक प्रमुख सेयर बजार सूचकांक हो । यसले अमेरिकी स्टक एक्सचेन्जमा सूचीबद्ध ५०० अग्रणी कम्पनीको अवस्थालाई मापन गर्छ । त्यस्तै एसिया प्रशान्त क्षेत्रका सेयर बजार लगातार दोस्रो दिन नकारात्मक बनेका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै वैश्विक आयातमा १० प्रतिशत भन्सार कर लगाउने योजना रहेको बताएका छन् । उनको दाबीअनुसार यसले अमेरिकी अर्थतन्त्रमा सुधार ल्याउनुका साथै संघीय राजस्व वृद्धि गर्न मद्दत गर्नेछ ।

‘शल्यक्रिया समाप्त भयो ! बिरामी बाँच्यो र निको हुँदैछ । बिरामी पहिलेभन्दा धेरै बलियो, ठूलो, राम्रो र बढी लचिलो हुने अनुमान छ,’ ट्रम्पले वाल स्ट्रिट कारोबारका लागि खुल्नुअघि ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरेका छन् ।

चीन र युरोपियन युनियनले ट्रम्पको भन्सार कर घोषणापछि प्रतीकारात्मक कदम चाल्ने संकेत दिएका छन् । अमेरिकी कर नीतिविरुद्ध जवाफी कदम चाल्ने उनीहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्