काठमाडौं । व्यवस्थाविरुद्धको प्रदर्शनका नाममा काठमाडौंको तीनकुनेमा भेला भएका राजावादी समूहका अराजक कार्यकर्ताले सामाजिक सुरक्षा कोषको गाडीमा आगजनी गरेका छन् । शुक्रबारको प्रदर्शनका लागि भेला भएका उनीहरुले निजी तथा सरकारी सम्पत्तिमात्र तोडफोड र आगजनी गरेनन्, मजदुरको हितका लागि स्थापना भएको कोषको सम्पत्ति पनि जलाएका हुन् ।
वर्तमान संघीय व्यवस्थाविरुद्ध आन्दोलन गरी देश बनाउने र बचाउने नारा दिएका उनीहरुले काठमाडौंबासीलाई चरम सास्ती दिएका छन् । सार्वजनिक सम्पत्ति तोडफोड गरेका छन् भने मजदुरले योगदान गरेको पैसा व्यवस्थापन गरी कोखदेखि शोकसम्म सुविधा दिइरहेको कोष सचिवालयको गाडीमा आगजनी गरेका छन् ।
उनीहरुले कोषका निर्देशक उत्तम नेपाललाई दुर्व्यवहार गर्दै गाडीबाट झारेर आगो लगाएका हुन् । ‘सरकारी सम्पत्ति बिगार्नु हुँदैन भनेर पटक-पटक आग्रह गर्दा पनि मानेनन्,’ नेपालले भने, ‘ज्यान नै जोखिममा पर्ने भएपछि पछि हट्नुपर्ने स्थिति आयो ।’
अराजक राजावादी झुन्डले नरेफाँटबाट इमाडोल जाने पुलनजिक इम्बोस्ड नम्बर बी एबी ३८६७ नम्बरको नेक्सन ईभी जलाएका हुन् । निर्देशक नेपालका अनुसार त्यही आसपास अरु तीन-चार वटा सरकारी गाडी पनि जलिरहेका थिए ।
उनीहरुले सो क्षेत्रमा सर्वसाधारणमाथि पनि आक्रमण गरेका थिए । पानी भरेर हिँडिरहेका महिलाहरुलाई लछारपछार पार्दै पानी खोसेर पोखिदिने जस्ता निकृष्ट गतिविधि पनि उनीहरुले गरेका छन् ।