• Menu

युक्रेन विषयक अमेरिका-रुस वार्ता ‘उपयोगी’, वार्ता जारी रहने छ : रुसी वार्ताकार

नेपाल प्रफिट

२०८१ चैत १२, १४:५९

युक्रेन विषयक अमेरिका-रुस वार्ता ‘उपयोगी’, वार्ता जारी रहने छ : रुसी वार्ताकार

एजेन्सी । एक रुसी वार्ताकारले मंगलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसंघ तथा अन्य देशलाई समेत संलग्न गराउने लक्ष्य राख्ने बताएका छन् ।

‘हामीले सबै कुराबारे कुरा गर्‍यौँ, यो एक तीव्र संवाद थियो, सजिलो थिएन, तर हामी र अमेरिकीहरूका लागि धेरै उपयोगी थियो,’ सरकारी समाचार संस्था तासलाई ग्रिगोरी करासिनले ‘धेरै समस्या छलफल गरिएको छ’ भन्दै बताए ।

‘निश्चय नै हामी सबै कुरा समाधान गर्नबाट टाढा छौँ, सबै बुँदामा सहमत हुनबाट टाढा छौँ, तर लाग्छ कि यस प्रकारको छलफल धेरै समयोचित छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायलाई समावेश गर्दै, मुख्य रूपमा संयुक्त राष्ट्र र केही देशहरूलाई समावेश गर्दै हामी यसलाई जारी राख्नेछौँ ।’

साउदी अरबको एक विलासी होटलमा अमेरिकी र रुसी टोलीले १२ घण्टा वार्ता गरेको एक दिनपछि उनले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षको युद्धको द्रुत अन्त्यका लागि दबाब दिइहेको छ र साउदी राजधानीमा पछिल्लो चरणको वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा गरेका छन् । यसअघि तासले एक स्रोतलाई उद्धृत गर्दै वार्ताको संयुक्त वक्तव्य मंगलबार प्रकाशित हुने बताएको थियो ।

सुस्पिलेन समाचारलाई एक स्रोतले बताएअनुसार युक्रेनी वार्ता टोली अर्को दिनसम्म रियादमा बस्नेछ र अमेरिकी प्रतिनिधिहरूसँग भेट गर्नेछ । अर्को स्रोतले एएफपीलाई दोस्रो भेट हुने सम्भावना बताएको छ-जुन प्रगति भएको संकेत हो ।