कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले परिवर्तनको कसम खाने र चार वर्ष प्रतिवद्ध रहने हो भने मुलुक परिवर्तन हुने बताएका छन् ।
कपिलवस्तुको जितपुरस्थित बुद्ध रंगशालामा पार्टीले आयोजना गरेको खुला सभामा शनिबार सहभागी जनसमुदायलाई उनले आफू सचेत नागरिक हुँ भनेर कसम खान र त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न नसक्ने बताए ।
‘म शक्तिशाली जनता हुँ, दास होइन । नोकर होइन । म लोभी होइन । रक्सी-मासुमा भोट बेच्नेवाला होइन । म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ ? र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छ ? सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन ।’
एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुने उनले घोषणा गरे । ‘राम्रो गरुन्जेल घण्टी बजाउनुस्, नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्,’ लामिछानेले भने ।
कुनै षड्यन्त्रले यो आवाज रोकियो भने या यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा जनतालाई नै दिने उनले स्पष्ट पारे । ‘किनकि एउटा मान्छेले गरेर केही पनि हुँदैन, धेरै मान्छे चाहिन्छ,’ उनले भने ।
मान्छेका रुपमा कयौं कमजोरी भएका होलान् तर देशलाई घात गर्ने र जनतालाई ठग्ने एउटा पनि काम नगरेको उनको प्रस्टोक्ति छ । ‘मैले कसैलाई अन्याय गरेको रहेछु भने सोही व्यक्ति आओस्, शक्तिको दुरुपयोग गरी झुटा र अनर्गल प्रचार गरेर मलाई कसैले कमजोर बनाउन सक्दैन, प्रयास नै नगरे हुन्छ,’ सभापति लामिछानेले भने ।
कार्यक्रममा उपसभापति डीपी अर्यालले भावी पुस्ताका लागि बस्नलायक देश बनाउने दायित्व रास्वपाले पूरा गर्ने बताए । जनताको आशा र अपेक्षा पूरा गर्न सधैं इमानदार रहने र नागरिकको अहित हुने काम कहिल्यै नगर्ने प्रतिबद्ता उनले जनाए ।
रास्वपाविरुद्ध निरन्तर षड्यन्त्र हुन सक्नेमा पार्टी पंक्ति चनाखो हुनुपर्ने अर्यालको भनाइ छ । सभापति रवि लामिछानेविरुद्धका षड्यन्त्र, लान्छना र आरोपको जनस्तरबाटै प्रतिवाद हुनुपर्ने उनले बताए ।
पार्टीमा जोडिएका कसैलाई पनि गल्ती गर्ने छुट नरहेको र गल्ती प्रमाणित भएर निर्मम बन्ने उपसभापति अर्यालले स्पष्ट पारे ।