• Menu

नेप्सेको सीईओका लागि पाँच जनाको नाम सर्टलिस्टमा, बलियो प्रतिस्पर्धी को ?

नेपाल प्रफिट

२०८१ चैत ३, ११:३२

नेप्सेको सीईओका लागि पाँच जनाको नाम सर्टलिस्टमा, बलियो प्रतिस्पर्धी को ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सर्टलिस्टमा परेका पाँच जनाको नाम सार्वजनिक भएको छ । नेप्सेको सीईओ पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आइतबार आवेदक मध्येबाट योग्यता र व्यावसायिक कार्ययोजनाको मूल्यांकनका आधारमा पाँच जनाको नाम सर्टलिस्टमा राखेको हो ।

सर्टलिस्टमा चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका छन् । उनीहरुलाई व्यावसायिक कार्ययोजनाका प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बुधबार बोलाइएको छ ।

सीईओ नियुक्तिका लागि फागुन १२ देखि १८ सम्म आवेदन माग गरिएको थियो, जसमा १० जनाले आवेदन दिएका थिए । युवराज दाहाल, प्रवीण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी संक्षिप्त सूचीमा परेनन् ।

सर्टलिस्टमा परेकामध्ये सबैभन्दा बलिया प्रतिस्पर्धी आचार्य देखिएका छन् । इलाम स्थायी घर भएका उनी यसअघि सीडीएस एन्ड क्लियरिङको सीईओ थिए । सीडीएसीमा रहँदा चार वर्ष कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका उनी कृषि विकास बैंकका पूर्वउपमहाप्रबन्धक हुन् ।

सर्टलिस्टमा परेका कतिपय प्रतिस्पर्धीको योग्यतामाथि अहिले नै आशंका सुरु भएको छ । धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६’क’ शैक्षिक योग्यता र उमेरमात्र पुगेकाहरुले पनि नेप्सेको सीईओ बन्न आकांक्षा राखेको भेटिएको छ ।

नियमावलीमा सीईओ बन्न स्नातकोत्तर उपाधि हासिल गरी पुँजीबजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने उल्लेख छ ।

कतिपयलाई स्वार्थ समूहले अघि सारेको पाइएको छ । व्यावसायिक घरानासँगको मिलेमतोमा स्वार्थ समूहले अघि सारेका प्रतिस्पर्धीको पक्षमा तीव्र लबिइङ सुरु भइसकेको छ ।

सर्लाही स्थायी घर भएका लुइँटेल तारागाउँ विकास समितिको सदस्य सचिव हुन् । २०७८ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट उनलाई तारागाउँको सदस्य सचिवमा नियुक्त गरेका थिए । उनी त्यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका थिए । पुँजीबजार वा वित्तीय क्षेत्रमा काम गरेको अनुभव लुइँटेलसँग छैन ।

त्यस्तै, हेमन्त बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका सीईओ हुन् भने नुवाकोटका बद्रीप्रसाद प्याकुरेल आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका सीईओ तथा कम्पनी सचिव हुन् ।

झापा घर भएका चुडामणी चापागाईंलाई नेपाल बैंकको सञ्चालक समितिमा लैजाने तयारी भएको बुझिएको छ । उनी केही समय सानिमा लाइफ इन्स्योरेन्सका डेपुटी सीईओका रुपमा कार्यरत थिए ।