काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य १२ उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० अंकमा ओर्लिएको हो ।
आज २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ३ वटा कम्पनीको भने स्थिर रह्यो ।
मंगलबार कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएकामा आज ८ अर्ब ३९ करोड ११ लाखको कारोबार भयो ।
आज महालक्ष्मी विकास बैंकमा सकारात्मक सर्किट लाग्यो भने विन नेपाल लघुवित्तको ८.८०, ज्योति विकास बैंक ३.३५, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.११ र ग्रिन डेभलपमेन्ट बैंक २.४० प्रतिशत मूल्य बढेको छ । विकास बैंकको ०.०८ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.४९ प्रतिशत मूल्य घटेको छ ।
बैंकिङ समूह ०.७१, वित्त १.५७, लगानी १.८९, होटल तथा पर्यटन १.१३, जीवन बिमाको १.३०, जलविद्युत १.५१, अन्य १.६८, निर्जीवन बिमाको ०.९९, लघुवित्त ०.८९ र म्युचुअल फन्ड ०.१० र व्यापार समूहको १.७९ प्रतिशत मूल्य घटेको छ ।
नेस्डो समृद्धि लघुवित्तको ६.६९, उन्नति सहकार्य लघुवित्तको ५.३६, हिमालयन पावर पार्टनरको ४.७२ र राप्ती हाइड्रोको ४.६८ प्रतिशत मूल्य घट्यो । आज हिमालयन रिइन्स्योरेन्स सबैभन्दा धेरै ५८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।