• Menu

राष्ट्र बैंकले भन्यो- बैंक वित्तीय संस्थाका सम्बन्धमा भइरहेको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण

नेपाल प्रफिट

२०८० फागुन ८, १७:२८

राष्ट्र बैंकले भन्यो- बैंक वित्तीय संस्थाका सम्बन्धमा भइरहेको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भइरहेको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय बैंकले मंगलबार विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको र नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्‍याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न केन्द्रीय बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको विज्ञप्तिमा उल्लेख छ ।

‘सोहीबमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरूसमेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको व्यहोरा अवगत नै छ,’ विज्ञप्तिमा भनिएको छ ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा–निक्षेप अनुपातको अवस्था एवं तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचक तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय–समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको तथा बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ ।

‘बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

केही दिनयता एनआईसी एसिया बैंकलगातका विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति र केही समूहसमेतले भ्रामक प्रचार गर्न थालेपछि राष्ट्र बैंकले विज्ञप्ति नै निकालेर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्