काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चारै संगठनले वित्तीय संस्थाविरुद्धका अराजक गतिविधि र भ्रामक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार विज्ञप्ति जारी गरी वित्तीय क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
मुख्यत: एनआईसी एसिया बैंकप्रति केही दिनयता भइरहेका दुश्प्रचार र भ्रामक अभिव्यक्तिप्रति चारै वर्गका वित्तीय संस्थहरुले एकजुट भएर विरोध जनाएका हुन् । दुश्प्रचार र भ्रामक अभिव्यक्तिप्रति चारै संगठनले संयुक्त विज्ञप्ति निकालेका ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा के छ ?
नेपालको बैंकिङ क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा हामी सबै अवगत नै छौं । हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु सञ्चालनमा छन् ।
देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्रार्हस्थ्य उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरु आफ्ना ६४४१ शाखाहरुमार्फत देशभर प्रदान गर्दै आइरहेका छन् ।
साथै, देशको दुर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै स–साना ऋणीहरुलाई ४ खर्ब रुपैयाँभन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहं भूमिका खेलेको सर्वविदित नै छ । यी सबै संस्थाहरुले ८२ हजारभन्दा धेरै कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् ।
आव २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई ३१ अर्ब रुपैयाँभन्दा धेरै राजस्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले ७७ करोड रुपैयाँभन्दा धेरै विविध सामाजिक कार्यमा खर्च गरेका छन् ।
यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (बासेललगायत) लाई आत्मसात् गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ ।
नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र सोको नीतिनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शीमात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।
यस संघहरुसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिएको स्मरण गराउँछौं ।
बेलाबखतमा सामाजिक सञ्जालहरुमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरुमा ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।
साथै, आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्नसमेत सरकारी निकायहरुलाई आग्रह गर्दछौं ।
बैंकिङ क्षेत्रप्रति सद्भाव, सहयोग र विश्वास प्रदान गर्नुहुने समस्त ग्राहकवर्ग तथा आम जनमानसमा सही सूचना तथ्य पुर्याउन सहयोग गर्नुहुने सञ्चारमाध्यम लगायत सम्पूर्ण सरोकारवालालाई हार्दिक आभार प्रकट गर्दै हाम्रा सेवा–सुविधालाई आगामी दिनमा अझै बढी सुदृढ बनाउन हामी प्रतिबद्ध रहेको व्यहोरा यहाँहरुसमक्ष अनुरोध गर्दछौं ।