• Menu

संसद पुग्यो पाथीभरा केबलकार विवाद, राप्रपा र रास्वपा विपक्षमा, सत्तारुढ एमाले के भन्छ ?

नेपाल प्रफिट

२०८१ फागुन ११, १५:०१

संसद पुग्यो पाथीभरा केबलकार विवाद, राप्रपा र रास्वपा विपक्षमा, सत्तारुढ एमाले के भन्छ ?

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयमा प्रश्न उठाएका छन् । सांसदहरुले केबलकार निर्माणको विषय विवादित बनेका कारण संवाद र सहमतिबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारिक स्वार्थका लागि मुक्कुमलुङमा भाइ-भाइ जुधाउने काम भइरहेको बताए । ‘आज भाइ-भाइ लडाउने काम भइरहेको छ, एउटा व्यापारिक स्वार्थका लागि,’ आकस्मिक समयमा उनले भने , ‘तर यो विषयमा राजनीतिक दलहरू, नागरिक समाज र मानव अधिकार आयोगको समेत ध्यान पुग्न सकेको छैन ।’

वार्तामार्फत समस्या समाधान गर्नका लागि उनले सरकारलाई आग्रह गरे । ‘किन मन्त्रीस्तरको वार्ताका लागि सरकार तयार छैन ?’ भन्दै उनले प्रश्न गरे । पाथीभरामा केबलकार निर्माण कार्य तत्काल रोक्न उनले माग गरे ।

सरकारले लामो समयदेखि पाथीभरा क्षेत्रमा केबलकार निर्माणका लागि दिने योजना बनाएको अध्यक्ष लिङ्देनले बताए । केपी शर्मा ओलीको नेतृत्वमै सरकार भएका बेला कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरिएको र लगत्तै निजी क्षेत्रलाई केबलकार बनाउन दिने निर्णय भएको उनले बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि पाथीभरामा केबलकार निर्माण कार्य रोक्न माग गरेको छ । प्रतिनिधि सभाको आकस्मिक समयमा रास्वपा सांसद तोसिमा कार्कीले पार्टीका तर्फबाट केबलकार निर्माण कार्य रोक्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अनुरोध गर्न चाहन्छु- त्यहाँ भइरहेको निर्माण कार्य तत्कालका लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्ष, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकसँग संवाद गरेर वार्तामार्फत यो विषयलाई सम्बोधन गरियोस्, समाधान गरियोस्,’ उनले भनिन् ।

पाथीभरामा बलमार्फत नभएर सरकारले वार्तामार्फत विवाद समाधान गर्नुपर्नेमा कार्कीले बताइन् । यसअघि स्थानीयसँग भएको सहमति कार्यान्वयन नभएका कारण सरकारसँग नागरिकको विश्वास डगमगाएको उनको आशंका छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का सचिव एवं ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईले केबलकार निर्माण विवादको यथोचित समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए । ‘केबलकार बनाउनु उचित हो वा होइन भनेर एउटा बहसको विषय हुन सक्छ तर ऐनअनुसार पाथीभरामा केबलकार बनाउन निजी क्षेत्रलाई अनुमति दिइएको भुल्न हुँदैन,’ उनले भने ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले नेपालको ऐन कानुनको व्यवस्थाअनुसार नै केबलकार निर्माणको निम्ति कुनै निजी क्षेत्रलाई अनुमति दिएको उनले स्पष्ट पारे । ऐन कानुनअनुसार पाएको अनुमतिका आधारमा निजी क्षेत्रले केबलकार निर्माणको काम अगाडि बढाएको भट्टराईको प्रस्टोक्ति छ ।

त्यसप्रति विरोध गर्ने अधिकार सबैलाई भए पनि विरोधी समूहहरु उग्र रुपमा प्रस्तुत भइरहेको भट्टराईले बताए । ‘विरोधका सीमा हुन्छन् सभामुख महोदय ! सभ्य ढंगले, संयमित ढंगले र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो,’ उनले भने ।

तर, केबलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भएको उनले जानकारी गराए । ‘ताप्लेजुङ बजारका सर्वसाधारण मानिसका घरमा मसाल जुलुसको आगो फाल्ने काम भएको छ,’ सांसद भट्टराईले भने, ‘सुरक्षाकर्मीमाथि समेत सांघातिक हमला गर्ने काम भएको छ ।’

विकासको विरोधी कोही पनि नरहेको र धर्म र संस्कृतिको विरोधी पनि कोही नरहेको उनले स्पष्ट पारे । ‘धर्म र संस्कृतिलाई जब हामी निजी स्वार्थमा प्रयोग गर्न थाल्छौं, धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं, त्यसले एउटा भयंकर विवादको स्वरुप लिन्छ, यो हामीले दुनियाँमा देखेका छौं,’ उनले भने ।