• Menu

वीरगन्ज भन्सारद्वारा सात महिनामा ९४ अर्ब ५२ करोड  राजस्व संकलन

नेपाल प्रफिट

२०८१ फागुन ९, शुक्रबार १२:१३

वीरगन्ज भन्सारद्वारा सात महिनामा ९४ अर्ब ५२ करोड  राजस्व संकलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन गरेको छ । यो गत आवको सोही अवधिमा संकलित रकममा  सात अर्ब ९५ करोडले बढी हो ।

उक्त कार्यालयले उक्त अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो । ‘दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ,’ उनले भने ।

गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ ।