• Menu

बढैयाताल गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो ७० लाखमा निर्माण गरिएको सभाहल

नेपाल प्रफिट

२०८१ फागुन ८, १२:५१

बढैयाताल गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो ७० लाखमा निर्माण गरिएको सभाहल

बर्दिया । बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल  उपयोगमा चासो नदिँदा  निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे  बनेको  छ । बढैयाताल गाउँपालिका-८ पशुपतिनगरमा रहेको उक्त सभाहल ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो ।

दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र पोसाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिए

गाउँपालिका र निमार्ण कम्पनीबीच भएको सम्झौता अनुसार निर्माण  कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताए ।

जय बागेश्वरी निमार्ण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबीच २०७८ साल जेठ ८ गते ठेक्का  सम्झौता भएको थियो । सम्झौता बमोजिम पूर्ण रुपमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले  पुनः भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ ।

सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ ।

गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि  पाँच किलोमिटर पश्चिममा निर्मित सभाहलका झ्यालका सिसा फुटेका छन् भने छाडा पशुको विश्रामस्थल र बालबालिका खेल्ने ठाउँ बनेको छ ।